काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र प्रहरी महानिरिक्षक (आईजी) दीपक थापाबीच भेटवार्ता भएपछि हनुमान ढोकामा रहेको जीर्ण प्रहरी भवन भत्काइने भएको छ।
यो भेटपछि महानगरपालिकाले प्रहरीलाई सहमति दिएको हो। काठमाडौं महानगरपालिकाको कार्यालयमा मंगलबार आइजिपी थापा छलफलका लागि पुगेका थिए।
अहिलेको जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालय त्यतिबेला हनुमानढोकामा थियो। २०७२ सालको भूकम्पका कारण त्यहाँको भवन जीर्ण बनेको हो। त्यसपछि दुवै प्रहरी कार्यालयलाई अन्यत्र सारिएको थियो।
स्थानीयले विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार स्क्वायरमा प्रहरीको भवन राख्न नहुने भन्दै हटाउनुपर्ने माग राख्दै आएका छन्।
भूकम्पले चर्किएको हनुमानढोकाको भवन सुरक्षार्थ केही प्रहरी बस्दै आएका छन्। २०१२ सालमा स्थापना भएको यो कार्यालयमा रातो स्टिकर लगाइएको छ।
बालेन र थापाबीच यस विषयमा मौखिक सहमति भएको थियो। यता यो भेटमा रामशाह पथमा रहेको ट्राफिक महाशाखाको कार्यालय रहेको जग्गा कम रहेका कारण महानगरले थप्ने समेत सहमति भएको बताइएको छ।