काठमाडौँ । भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलन तुर्कमेनिस्तानको आवाजामा सुरु भएको छ ।
आजदेखि २३ गतेसम्म हुने सो सम्मेलनमा सहभागी मलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूलाई तुर्कमेनिस्तान सरकारका उपाध्यक्ष होजाम्यारात जेल्डिम्यारदोभ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले उद्घाटन स्थल आवाजास्थित स्पोर्टस कम्प्लेक्समा स्वागत गरेका थिए ।
उद्घाटन सत्रमा सम्बोधन गर्दै महासचिव गुटेरेसले भूपरिवेष्टित मुलुकहरूले अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बजारसम्मको पहुँच बढाउन र भोगिरहेका समस्या समाधान गर्नका लागि आवश्यक सहयोग एवं समन्वयसहित साझा प्रयास गर्नुपर्नेमा जोड दिए ।
तुर्कमेनिस्तानका राष्ट्रपति बेरदिमुहामेदोभले दक्षिण-दक्षिणको सहकार्यका साथै संसदीय मञ्च, युवा र नागरिक सञ्जालको सक्रियताबाट भूपरिवेष्टित विकासशील राष्ट्रहरूले भोगिरहेका आर्थिक र सामाजिक समस्याको समाधान गर्नुपर्ने बताए । यसैगरी संयुक्त राष्ट्रसंघको ७९औँ महासभाका अध्यक्ष फिलेमोन युन्जीले पनि उद्घाटन सत्रलाई सम्बोधन गरेका थिए ।
सम्मेलनको ‘प्लेनरी’सत्र आवाजास्थित पर्यटकीय भवनमा सुरु भएको छ । नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सम्मेलनमा सहभागी भएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज सम्बोधन गर्ने छन् । उनले अल्पविकसित मुलुक (एलडिसी) समूहका तर्फबाटसमेत सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम छ ।
यसैगरी, सम्मेलनका अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुख र संयुक्त राष्ट्र संघ तथा अन्य अन्तर्राष्ट्रिय संस्थाका उच्चपदस्थ पदाधिकारीहरूसँग भेटवार्ता गर्ने छन् ।
समुद्रमा प्रत्यक्ष क्षेत्रीय पहुँच नभएका कारण विशेष गरी भूपरिवेष्टित विकासशील देशहरूले अन्तर्राष्ट्रिय व्यापार, ‘कनेक्टिभिटी’ र आर्थिक विकासमा कठिनाइ झेलिरहेको अवस्थामा तुर्कमेनिस्तानमा भइरहेको सो समूहको तेस्रो सम्मेलनलाई महत्वका साथ हेरिएको छ ।
प्रधानमन्त्रीको भ्रमण टोलीमा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रतिनिधिसभाका सदस्य सूर्यबहादुर थापा क्षेत्री, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, निजी चिकित्सक प्राडा दिव्यासिंह शाह, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी छन् ।