
काठमाडौँ । संयुक्त राज्य अमेरिका र युरोपियन युनियन (ईयू) बीच ऐतिहासिक व्यापार सम्झौता भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लायनबीच हिजो स्कटल्याण्डको टर्नबेरी गोल्फ रिसोर्टमा भएको निर्णायक वार्तापछि दुवै पक्ष १५ प्रतिशत भन्सार दरमा सहमत भएका हुन् ।
यो सम्झौताले महिनौँ लामो व्यापारिक तनावको अन्त्य गर्दै विश्व व्यापारको झन्डै एक तिहाइ हिस्सा ओगट्ने दुई ठूला साझेदारबीच नयाँ सहकार्यको ढोका खोलिदिएको छ । अब अमेरिकी बजारमा प्रवेश गर्ने सबै युरोपेली सामानमा १५ प्रतिशत आयात कर लाग्नेछ । जुन ट्रम्पले घोषणा गरेका ३० प्रतिशत दरको आधा हो । साथै केही विशेष वस्तुहरू जस्तै विमान तथा पार्टपुर्जा, केही कृषि तथा रसायनजन्य उत्पादनहरूमा भने कुनै भन्सार लाग्ने छैन ।
युरोपेली युनियनले पनि केही अमेरिकी वस्तुहरूमा शून्य प्रतिशत भन्सार छुट दिने भनिएको छ । राष्ट्रपति ट्रम्पले युरोपेली युनियनले अबको तीन वर्षमा अमेरिकामा झन्डै छ सय अर्ब डलरको लगानी गर्ने बताए। जसमा अमेरिकी सैन्य सामग्री किनमेल तथा ऊर्जा क्षेत्रमा सात सय ५० अर्ब डलरसम्म खर्च गरिनेछ । यो लगानीले युरोपको रुसी ऊर्जामा निर्भरता घटाउन सहयोग गर्ने अपेक्षा गरिएको बीबीसीले जनाएको छ ।