भोलि मंगल चौथी हो । हाम्रो हिन्दू संस्कृतिमा भगवान् गणेशलाई मङ्गलकारक देवताका रूपमा पूजा गर्ने परम्परा छ । गणेशको चर्चा वैदिक वाङ्मय र पौराणिक साहित्यका साथै दर्शन र संस्कृतिमा यत्रतत्र भेको भेटिन्छ । भगवान् गणपति मङ्गलकारी शुभफलप्रदाता र अमोघ लाभदाता हुन् । यिनको पूजाबाट भक्तका समस्त सङ्कट र कष्ट समाप्त हुन पुग्छन् ।
भगवान गणेश चतुर्थी तिथिका दिन प्रकट भएका थिए । गणेशजी प्रकट भएको दिन मङ्गलबार र चतुर्थी तिथिको संयोग थियो । त्यसैले यस्तो संयोगलाई भगवान् गणेशको पूजाआराधना र प्रसन्नताका निम्ति अतीव महत्वपूर्ण तिथिका रूपमा लिइएको हो । मङ्गल चौथीलाई ‘मङ्गलचतुर्थी’ र ‘अङ्गारकी चतुर्थी’ पनि भन्ने गरिन्छ।
ज्योतिषशास्त्रमा मङ्गलबारको प्रतीकात्मक सम्बन्ध मङ्गल ग्रहसँग रहेको मान्यता छ । त्यसैले मङ्गलबारलाई भगवान् गणेशको प्रियतम दिवस मानेर हप्तैपिच्छे श्रीगणेशको उपासना गर्ने परम्परा पनि विद्यमान छ । मङ्गल ग्रहको उत्पत्ति पृथ्वीबाट भएको हो । पृथ्वीको सन्तान भएकाले मङ्गल ग्रहलाई भौम पनि भनिन्छ ।
मङ्गलबार र मङ्गलग्रहका अधिदेवता भगवान् गणेश नै हुन् । त्यसैले भगवान् गणेशको जन्मतिथि चतुर्थी मङ्गलबार पर्दा यो दिन अझ महत्त्वको हुन गएको हो । भगवान् गणेशको उत्पत्ति र मङ्गल ग्रहको उत्पत्तिसैत जोडिएको चतुर्थी तिथिका बारेमा भिन्नभिन्न पुराण र ग्रन्थहरूमा बेग्लाबेग्लै कथाप्रसङ्ग र क्षेपकहरू भेटिन्छन् । कतिले मङ्गल चौथीलाई भगवान् गणेशकै जन्मदिन र कतिपयले मङ्गल ग्रहको उत्पत्ति भएको प्रसङ्गसित जोडेको पाइन्छ ।
गणेश चौथीको महिमा
अन्य समुदायले गणेश चौथी मनाउँछन् भने नेवार समुदायले चथा पर्वको रुपमा मनाउछन् । चथा पर्वमा नेवारी समुदायमा उखु, अदुवा, चथा जस्ता बनस्पति लगायतका बस्तु चन्द्रमालाई चढाएर यो पर्व मनाउने चलन छ ।
पूर्वीय संस्कृति अन्तर्गत कुनै पनि कामको सफलताका निमित्त सबैभन्दा पहिले मङ्गलाचरण, स्वस्तिवाचन र इष्टदेवताको पूजाआजा गर्ने विधान छ । सामान्यतया कुनै कार्य सुचारु ढंगले सम्पन्न होस् भन्ने कामनाले श्रीगणेशको वन्दना गरिन्छ । उनलाई वैदिक वा पारम्परिक विधिविधानको प्रयोग गरी अर्चना वा पूजा गर्ने चलन छ ।
अतः सनातन धर्म र संस्कृतिमा सर्वप्रथम श्रीगणेशको पूजाबाट नै कुनै पनि कामको प्रारम्भ हुने गर्दछ । त्यो जुनसुकै इच्छा पूर्ण गर्नका निमित्त हुनसक्छ, जस्तै थालेको कामको समाप्तिपर्यन्त कुनै बाधाअवरोध नआओस् भनेर वा स्त्री, पुत्र, पौत्र, धन, समृद्धि पाइयोस् वा कुनै आपत, विपत वा सङ्कटबाट छुटकारा मिलोस् भनेर ।
श्रीगणेशको जन्म भदौ महिनाको शुक्ल पक्षको चतुर्थी तिथिका दिन भएको थियो । त्यसैले प्रत्येक वर्ष यस दिन धूमधामका साथमा गणेश जयन्ती पर्व मनाउने गरिन्छ । नेपालको परिप्रेक्ष्यमा यो पर्व महिलाहरूको महान् पर्व तीजको मध्यमा पर्दछ ।
हरितालिका तीज भाद्र शुक्ल तृतीयाका दिन मनाउने प्रचलन छ, त्यसको भोलिपल्ट अर्थात तीजको पार्नाका दिन गणेश चतुर्थी पर्दछ र त्यस दिन चौथी हान्ने दिन भन्ने चलन पनि छ । गणेश चतुर्थीको भोलिपल्ट ऋषिपञ्चमी पर्व मनाउने गरिन्छ । त्यसैले गणेश चतुर्थीलाई तीज पर्वकै अङ्ग मान्ने चलन रहेको छ ।
यसरी गणेश जयन्तीका दिन भगवान् गणेशलाई बुद्धि, समृद्धि र सौभाग्यका देवताका रूपमा पूजा गर्ने गरिन्छ । भाद्र महिनाको शुक्लपक्षको दिवाकालको मध्याह्नमा श्रीगणेशको जन्म भएको हो भन्ने मान्यता छ, त्यसैले प्रत्येक पक्षको चतुर्थी तिथि (शुक्लपक्ष वा कृष्णपक्ष) भगवान् गणेशलाई अत्यधिक प्रिय लाग्दछ ।
यस दिन व्रत लिने भक्तजनले मध्याह्नकालमा श्रीगणेशको यथाविधि पूजा गर्ने गर्दछन् । भगवान् गणेश ऋद्धि र सिद्धिका दाता हुनुहुन्छ, शुभता र लाभ वहाँका नैसर्गिक वरदान हुन्, त्यसैले उनलाई सिद्धिविनायक र सङ्कटनाशक देवता मान्ने गरिन्छ ।
विधि
मंगलवारको २१ हप्ता २१ महिना वा २१ वर्षको व्रत समापन गर्दा गणेशजी हनुमानजी वा मङ्गल ग्रहको विधवत् पूजा गरी २१ जोडी ब्राह्मणब्राह्मणी वा आठ वर्षमुनिका २१ जना कुमार केटाहरू भेला पारी तिनलाई रातो रङ्गका यथाशक्ति वस्त्रादि दान गरी यथाशक्ति गुलियो पदार्थ पेटभरि खान दिई यथाशक्ति दक्षिणा समेत दिई समापन गर्नु पर्दछ । दक्षिणामा पनि २१ पैसा २१ रुपैयाँ वा अन्त्यमा २१ अङ्क आउने संख्या राख्नु राम्रो मानिन्छ ।
श्री गणेशको स्तुति
खर्वं स्थूलतनुं गजेन्द्रवदनं लम्बोदरं सुन्दरं
प्रस्यन्दन्मदगन्धलुब्धमधुपव्यालोलगण्डस्थलम् ।
दन्ताघातविदारितारिरुधिरैः सिन्दूरशोभाकरं
वन्दे शैलसुतासुतं गणपतिं सिद्धिप्रदं कामदम् ।
(जो होचो र मोटो शरीर भएको हुनुहुन्छ, जसको गजराजको जस्तै अनुहार र लामो भुँडी छ, जो सुन्दर देखिनुहुन्छ तथा मदको सुगन्धले लोभिएका भँमराले चाट्नाले जसको गण्डस्थल चञ्चल हुँदैछ, दाँतको चोटले विदीर्ण भएका शत्रुगणको रक्तद्वारा सिन्दूर झैं शोभा धारण गर्नुहुने, कामनाका दाता एवं सिद्धि प्रदान गर्नुहुने पार्वतीपुत्र गणेशको म वन्दना गर्दछु ।)