जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत प्रहरी हवलदार शान्ता खत्रीले जागिर खाएको १६ वर्ष लागेको छ । जागिर खाने बेलामा उनले किनेको बिस्तारा जहाँ सरुवा हुन्छ त्यही लग्दै आएकी थिइन । खत्री मात्र नभएर जिप्रकामा रहेका १७३ प्रहरी सरुवा सँगै बिस्तारा लैजाने बाध्यता रहेको थियो । बुधवार देखी भने यो बाध्यता अन्त्य भएको छ ।
कार्यालयले ‘एक जवान एक बिस्तारा’ कार्यक्रम ल्याए पछि सुत्नका लागि आरामदायी बिस्तारा पाएका छन् । जस अन्तर्गत हरेका प्रहरीको लागि १ थान म्याट्रिक्स खरिद गरिएको छ । बुधवार कार्यालयका जवान देखि सबै कर्मचारीलाई एक थान म्याट्रिक्स हस्तान्तरण गरिएको छ ।
कार्यालय प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्कीले म्याट्रिक्स हस्तान्तरण गरेका थिए । साना दर्जाका कर्मचारी खास गरी प्रहरी जवान तथा हवलदारलाई लाभान्वित हुने गरी म्याट्रिक्स खरिद गरिएको थियो । प्रहरी कार्यालयका समस्या कतै खाट हुँदैन, खाट भए पनि बिस्तारा राम्रो हुँदैन । जसका कारण सुरुमा खाटको व्यवस्था गरी बिस्तारा दिने योजना बनाएको कार्कीले बताए । म्याट्रिक्स पाए पछि चिसो मौसममा पनि प्रहरीहरू आरामदायी तरीकाले सुत्न सक्ने छन् ।
यो प्रकारका कार्यक्रम यस अगाडी जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय इटहरीका लागु भएको जिल्ला प्रहरी कार्यालय प्रवक्ता धर्मराज भण्डारीले बताए । जिप्रका कास्कीमा कार्की र इप्रका इटहरीका भण्डारी प्रमुख हुँदा कार्यक्रम लागु भएको थियो । प्रहरी सरुवा हुँदा आफूले प्रयोग गरेका बिस्तारा बोकेर लैजानु पर्ने बाध्यता रहेको थियो ।
कार्यक्रम लागु भए पछि जिल्लामा आउने प्रहरीलाई सहज हुने भए पनि यहाँ बाट सरुवा भएर जाने प्रहरीले भने बिस्तारा बोक्नु पर्ने बाध्यता कायम रहेको छ । अन्य युनिटमा भने बजेट नभएको कारणले गर्न नसकिएको प्रहरी बताइएको छ । खरिद गरिएको म्याट्रिक्सको रकम कार्यालय भित्र च्यारीटी गरी उठाइने योजना रहेको छ ।