काठमाडौं । नेपाल फुटबल लिग (एनएफएल) मा तीन नयाँ टोली थप्ने उद्देश्यले आह्वान गरिएको बोलपत्रमा २० वटा प्रस्ताव परेका छन्। प्राप्त प्रस्तावमध्ये मूल्यांकनका आधारमा तीन टोली छनोट गरिने भएको छ।
एनएफएलका कमिश्नर राजु घिसिङका अनुसार आठ सहरलाई लक्षित गरी खोलिएको बोलपत्रमा २० वटा प्रस्ताव प्राप्त भएका हुन्। उनले पेश गरिएको बोलपत्र रकम, व्यावसायिक तथा वित्तीय पृष्ठभूमि, सामाजिक विश्वसनीयता र आगामी १० वर्षको क्लब सञ्चालन योजनाका आधारमा तीन टोली छनोट गरिने जानकारी दिए।
नयाँ टोलीका लागि विराटनगर, धरान, जनकपुर, वीरगन्ज, हेटौँडा, भक्तपुर, नेपालगन्ज र सुर्खेतका इच्छुक पक्षसँग प्रस्ताव माग गरिएको थियो।
यसअघि नेपाल सुपर लिग (एनएसएल) मा सहभागी हुँदै आएका काठमाडौं रेजर्स, ललितपुर सिटी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी, धनगढी एफसी र झापा एफसी एनएफएलका संस्थापक टोली हुन्।
यी सात संस्थापक टोलीसँगै छनोट हुने तीन नयाँ टोली गरी कुल १० टोलीले एनएफएलमा प्रतिस्पर्धा गर्नेछन्। लिगका खेल होम एन्ड अवे प्रणालीमा सञ्चालन हुनेछन्।
एनएफएलको पहिलो संस्करण आगामी फागुन १ गतेदेखि सुरु हुने तय भएको छ।