चितवन । भदौ १० गते आएको विनाशकारी भोटेकोशी बाढीपछि त्रिशूली नदी किनारमा बसोबास गर्दै आएका बासिन्दामा त्रास बढेको छ । सामान्य वर्षात् हुँदा पनि नदीमा फेरि ठूलो बाढी आउन सक्ने र आफूहरूको घर तथा व्यवसायमा क्षति पुग्ने चिन्ताले उनीहरू डरमा दिनरात बिताउन बाध्य छन् ।
इच्छाकामना गाउँपालिका–५ स्थित त्रिशूली किनारमा बस्दै आएकी सानी गौचनले आफूले जीवनको ४५ वर्ष यही क्षेत्रमा बिताए पनि यस्तो विनाशकारी बाढी यसअघि नदेखेको बताइन् । भोटेकोशी बाढीपछि पानी पर्नासाथ आफू झस्किने गरेको उनको भनाइ छ ।
“बाढी देखेका थियौँ, तर यस्तो विनाशकारी बाढी देखेका थिएनौँ । त्यो दिन सम्झँदा अझै पनि मनमा अत्यास लाग्छ । पानी पर्दासमेत फेरि घर छोड्नुपर्ने हो कि भन्ने डरले सताइरहेको छ,” उनले भनिन् ।
मुग्लिन बजारमा विगत ४५ वर्षदेखि ‘आमा होटल’ सञ्चालन गर्दै आएकी कोपिला गौचनलाई पनि बाढीको त्रासले छाडेको छैन । वर्षात् हुन थालेपछि होटलमा काम गर्ने कर्मचारीदेखि सबैलाई सुरक्षित राख्ने प्रयास गर्ने गरेको उनले बताइन् ।
भदौ १० गतेको बाढीपछि आफूले न त फोन बन्द गर्न सकेको बताइन्, न रातमा राम्रोसँग निदाउन नै । “कतै फोन गरेर घर छोड, बाढी आउँदैछ भन्ने सूचना आउँछ कि भन्ने डर हुन्छ,” उनले भनिन् ।
खोलाको पानी सुसाउँदा समेत त्रासमा बस्नुपर्ने अवस्था रहेको उनको गुनासो छ । पुर्ख्यौली व्यवसाय भएकाले छाड्न नसके पनि आफूहरू अझै पूर्णरूपमा सुरक्षित रहेको महसुस गर्न नसकेको उनले बताइन् ।
स्याङ्जा स्थायी घर भई विगत ३२ वर्षदेखि मुग्लिन आसपास व्यवसाय गर्दै आएका सेख अलाउदीन मियालाई पनि अहिले पानीको आवाज सुन्नासाथ आफूले राखेका सामानको चिन्ता लाग्ने गरेको छ । नुवाकोटमा रहेकी छोरी सम्पर्कविहीन भएपछि आफूलाई पनि त्यस्तै अवस्था आउन सक्ने डरले थप सताउने गरेको उनले बताए ।
सामान्य अवस्थामा त्रिशूलीमा पानीको बहाव बढ्दा खासै चिन्ता नहुने भए पनि भदौ १० गतेको बाढीपछि भने रातमा राम्रोसँग निदाउन नसकेको उनको भनाइ छ । “साना बालबालिका लिएर बस्नुपर्छ, त्यसमाथि त्रिशूलीको डर छ । अचानक आएको बाढीले त्रिशूली किनारमा व्यवसाय गर्नसमेत डर लाग्न थालेको छ,” उनले दुःखेसो पोखे ।
त्रिशूलीमा र्याफ्टिङ गर्न आउने पर्यटकलाई खाना तथा खाजा खुवाउँदै आएका नारायण श्रेष्ठ पनि व्यवसाय निरन्तरता दिने कि छाड्ने भन्ने दोधारमा छन् । सँगै व्यवसाय गर्दै आएका साथीहरू समेत छाडेर गएपछि आफू अन्योलमा परेको उनले बताए ।
“बाढीसँग डर होइन, विनाशकारी बाढीसँग अझै हामीलाई डर छ,” उनले भने ।
पृथ्वी राजमार्गअन्तर्गत विनय गेस्ट हाउस तथा खाजा घर सञ्चालन गर्दै आएका श्रेष्ठले वर्षात् सुरु भएपछि त्रास झनै बढ्ने गरेको बताए । “अब के गर्ने भन्ने सोचमै छु,” उनले भने ।
भोटेकोशी बाढीपछि पृथ्वी राजमार्गअन्तर्गत त्रिशूली नदी किनारमा रहेका यस्ता व्यवसायी तथा स्थानीय परिवार त्रासमै दिनरात बिताइरहेका छन् । फेरि ठूलो बाढी आएमा कसरी सुरक्षित हुने र आफ्नो घर तथा व्यवसाय जोगाउने भन्ने चिन्ता उनीहरूमा थपिएको छ ।
रसुवाबाट नुवाकोट र धादिङ हुँदै चितवनको देवघाट पुगेपछि त्रिशूली नदी कालीगण्डकीमा मिसिएर नारायणी बन्छ । गहिरो त्रिशूली नदीका दुवै किनारमा वर्षौंदेखि मानव बस्ती र बजार विस्तार भएका छन् । विगतमा पनि नदीमा बाढी आउने गरे पनि भदौ १० गतेको जस्तो ठूलो बाढी यस क्षेत्रका बासिन्दाले भोगेका थिएनन् ।
भोटेकोशी बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति भएपछि प्रत्यक्ष क्षति नभएका त्रिशूली किनारका बस्ती र बजार क्षेत्रका बासिन्दामा समेत बाढीको त्रास कायमै रहेको छ ।