धनगढी । भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा कार्यरत सुदूरपश्चिमका ७१ जना सम्पर्कमा आएका छन् । प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार अझै १४३ जना सम्पर्कविहीन छन् ।
गत भदौ १० गते आएको बाढीपछि सुदूरपश्चिमका विभिन्न जिल्लामा स्थायी ठेगाना भएका, तर रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र तनहुँलगायतका जिल्लामा कार्यरत व्यक्तिहरू सम्पर्कविहीन भएको भन्दै परिवार तथा आफन्तले प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्रमा जानकारी गराएका थिए ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयको विपद् शाखाका प्रमुख जनक धामीका अनुसार सम्पर्कविहीनमध्ये हालसम्म ७१ जना सम्पर्कमा आएका छन् । सम्पर्कमा आउनेमा ११ महिला र ६० पुरुष छन् । अझै सम्पर्कविहीन रहेकामा १३ महिला र १३० पुरुष रहेको केन्द्रको अभिलेखमा उल्लेख छ ।
बाढीमा परी सुदूरपश्चिमका एक जनाको मृत्यु भएको पनि अभिलेखमा उल्लेख छ । बैतडीका एक जनाको बाढीमा परी मृत्यु भएको र शव बुझेर अन्त्येष्टिसमेत गरिसकिएको जनाइएको छ ।
जिल्लागत विवरणअनुसार कैलालीका ६७ जना अझै सम्पर्कविहीन छन् भने ५३ जना सम्पर्कमा आएका छन् । कञ्चनपुरका २६ जना सम्पर्कविहीन र ११ जना सम्पर्कमा आएका छन् ।
त्यस्तै, डडेल्धुराका १७ जना सम्पर्कविहीन तथा छ जना सम्पर्कमा आएका छन् । डोटीका दुई जना अझै सम्पर्कविहीन छन् भने एक जना सम्पर्कमा आएका छन् ।
बाजुराका १६, बैतडीका सात, दार्चुलाका चार, बझाङका दुई र अछामका दुई जना अझै सम्पर्कविहीन रहेको प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।
बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिको अवस्था यकिन गर्न परिवार तथा आफन्तले खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन माग गर्दै आएका छन् । उनीहरूले आपत्कालीन कार्यसञ्चालन केन्द्रमार्फत सम्बन्धित निकायलाई सम्पर्कविहीनको खोजी प्रभावकारी बनाउन आग्रह गरिरहेका छन् ।