गण्डकी– तीज पर्वसँगै नेवार समुदायमा प्रचलित भदौरे जात्राको यस वर्षको मैजारो भएको छ। बर्खे नाचका रूपमा परिचित यस जात्रामा लाखे, बास्सा, रोपाइँ, होवा, जोगी, कटुवाल, घोडालगायत विभिन्न नाच तथा झाँकी प्रस्तुत गर्ने गरिन्छ।
जनैपूर्णिमाको भोलिपल्टदेखि भदौरे जात्राको रौनक सुरु हुने भए पनि नेवार समुदायको लोकप्रिय लाखे नाच भने गठेमङ्गल पर्वदेखि नै प्रदर्शन गर्ने परम्परा छ। ठूला चाडपर्वको आगमनअघि आयोजना हुने यस्ता जात्रा तथा नाचले वातावरणलाई पर्वमय बनाउने गरेका छन्।
पर्वतको कुश्मास्थित ‘शताब्दी घर’को आँगनमा सोमबार साँझ लाखे नाच प्रदर्शन गरिएको छ। पुरानो बजार क्षेत्रमा सक्रिय लाखे एकीकृत समाजले यस वर्षको अन्तिम लाखे नाच प्रदर्शन गर्दै वर्षदिनका लागि लाखेलाई बिदाइ गरेको हो।
स्थानीयवासी जयन्द्रकुमार जोशीका अनुसार कुश्मामा साउन कृष्ण औँसी अर्थात् भुते औँसीदेखि तीजसम्म लाखे नाच प्रदर्शन गर्ने परम्परा छ। यस अवधिमा रोपाइँ जात्रा, गाईजात्रा, बाघ जात्रा र हनुमान नाचसमेत प्रदर्शन गरिन्छ।
कुश्मामा लाखे नाचको परम्परा करिब अढाई सय वर्ष पुरानो रहेको स्थानीय संस्कृतिकर्मीहरूको भनाइ छ। नेवारी संस्कृतिको संरक्षण गर्ने उद्देश्यले पछिल्ला वर्षमा पनि नियमित रूपमा लाखे नाच प्रदर्शन हुँदै आएको छ।
लाखे नाचमा नेवार समुदायका कलाकारले लाखेको भूमिका निर्वाह गर्ने भए पनि यसको तयारी, व्यवस्थापन र प्रदर्शनमा कुश्मावासीका विभिन्न समुदायको सहभागिता रहने गरेको छ।
संस्कृतिकर्मी शान्तिनारायण श्रेष्ठका अनुसार भदौरे जात्राअन्तर्गत लाखे नाचसँगै गाईजात्रा, नागा नाच, रोपाइँ जात्रा, बाघ जात्रा, कृष्ण जात्रा, हनुमान नाच र बकुल्ला नाचलगायतका परम्परागत प्रस्तुति पर्छन्। तर संरक्षणको अभावमा बकुल्ला र हनुमान नाच लोपोन्मुख अवस्थामा पुगेका छन्।
लाखे एकीकृत समाजका कार्यक्रम संयोजक रजतमान श्रेष्ठले विगतका वर्षझैँ यस वर्ष पनि लाखे नचाउँदै नगर परिक्रमा गरिएको बताए। परम्परागत वेषभूषा र विभिन्न चरित्र प्रस्तुत गर्दै लाखे नाच प्रदर्शन गरिएको उनको भनाइ छ।
किंवदन्तीअनुसार भूतप्रेतबाट मानिसलाई जोगाउने उद्देश्यले लाखे नाचको प्रचलन सुरु भएको मानिन्छ। यही विश्वास र परम्परालाई निरन्तरता दिँदै नेवार समुदायले पुस्तौँदेखि लाखे नाच प्रदर्शन गर्दै आएको छ।
संरक्षणकर्मी आरके अदीप्त गिरीले लाखे नाचलाई अमूर्त सांस्कृतिक सम्पदाका रूपमा संरक्षण गर्नुपर्ने बताए। उनका अनुसार करिब २५० वर्षअघि भक्तपुरबाट सुरु भएको यो परम्परा संरक्षण गर्न नेवार समुदायको सक्रियतामात्र पर्याप्त नभई राज्यको नीतिगत सहयोग र दीर्घकालीन योजना आवश्यक छ।
स्थानीय मौलिक कला, संस्कृति, पर्व, परम्परा र वेषभूषाको संरक्षण गर्ने उद्देश्यले ‘शताब्दी घर’को परिकल्पना गरिएको गिरीले बताए। विभिन्न समुदायमा प्रचलित परम्परागत नाचगानलाई समेटेर शताब्दी घरमा मासिक सांस्कृतिक शृङ्खला सञ्चालन गर्ने योजना रहेको उनले जानकारी दिए।
के हो लाखे नाच ?
लाखे नाच घण्टाकर्ण अर्थात् गठेमङ्गल पर्वदेखि सुरु गरी तीजमा समापन गर्ने परम्परा छ। किंवदन्तीअनुसार राजाका सिपाहीले घण्टाकर्ण नामक राक्षसलाई मारेपछि पति वियोगमा व्याकुल उनकी श्रीमती लाखे बनेर नाचेकी थिइन्। त्यसैको प्रतीकका रूपमा नेवार समुदायमा लाखे नाचको परम्परा चलेको मानिन्छ।
नेवार समुदायको बसोबास र स्थानीय परम्पराअनुसार लाखे नाचको शैली फरक–फरक पाइन्छ। यस नाचमा हिँडाउने, पड्ताल, भोटेसेलो र झ्यारी गरी चार ताल प्रयोग गरिन्छ। राक्षसी स्वरूप झल्किने मुकुट र विशेष देवी वस्त्र लगाएर कलाकारलाई लाखेका रूपमा प्रस्तुत गरिन्छ।
संस्कृतिकर्मी प्रेम छोटाका अनुसार सयौँ वर्षअघि भक्तपुर, धुलिखेल र भादगाउँबाट आएका नेवार समुदायले पर्वत, बागलुङलगायत क्षेत्रमा लाखेसहित विभिन्न जात्रा तथा नाचको परम्परा बसालेका हुन्। यस्ता जात्रा भाइचारा, मेलमिलाप, सामाजिक सन्देश र मनोरञ्जनका माध्यमका रूपमा विकास भएका छन्।
गीत, नृत्य र अभिनयमार्फत व्यङ्ग्य, पौराणिक कथा, जनजीवनका भोगाइ र मनोरञ्जन प्रस्तुत गर्ने यी जात्राका आ–आफ्नै कथा, पृष्ठभूमि, शैली र ऐतिहासिक मान्यता छन्।
पछिल्लो समय जात्रा तथा परम्परागत नाचको रौनक घट्दै गए पनि नेवार समुदायले आफ्नो मौलिक संस्कृति संरक्षणका लागि प्रयास गरिरहेको छ। यद्यपि संरक्षणको अभाव र नयाँ पुस्तामा परम्परागत संस्कृतिप्रतिको आकर्षण घट्दै जाँदा कतिपय मौलिक नाच लोप हुने अवस्थामा पुगेका छन्।