जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर नगरपालिका–५, साविक सुगा निकास गाविस–३ का ३६५ परिवारले जग्गाधनी प्रमाणपुर्जा पाएका छन्।
नापी कार्यालय धनुषाका अनुसार उक्त क्षेत्रमा विसं २०७२ मै नाप नक्साको काम सम्पन्न भएको थियो। तर विभिन्न कारणले दर्ता प्रक्रिया पूरा हुन नसक्दा स्थानीयले लामो समयदेखि जग्गाधनी प्रमाणपुर्जा पाउन सकेका थिएनन्।
नाप नक्सा सम्पन्न भए पनि दर्ता हुन बाँकी रहेका स्ववासी तथा गाउँ ब्लक क्षेत्रका जग्गाको समस्या समाधान गर्दै प्रमाणपुर्जा वितरण गरिएको नापी कार्यालय धनुषाका प्रमुख उमेशकुमारले जानकारी दिए।
उनका अनुसार स्ववासी जग्गा दर्ता भई जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरेपछि वर्षौँदेखि जग्गाको कानुनी स्वामित्व स्थापित गर्न नसकेका परिवारले आफ्नो सम्पत्तिमाथि औपचारिक अधिकार पाएका छन्।
“पुर्जा प्राप्त भएपछि जग्गा बैंक तथा वित्तीय संस्थामा धितो राखेर ऋण लिन सहज हुन्छ,” प्रमुख उमेशकुमारले भने, “जग्गा बिक्री–वितरण गर्न सकिने भएकाले आर्थिक गतिविधि बढ्नुका साथै राज्यले राजस्वसमेत प्राप्त गर्छ।”
धनुषामा सञ्चालन भइरहेको जग्गाधनी प्रमाणपुर्जा वितरण अभियानअन्तर्गत क्षीरेश्वरनाथ नगरपालिका–१ र २ तथा साविक रमदैया भवाडी गाविस–३ का ३७५ परिवारलाई पनि जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने तयारी भइरहेको उनले बताए।
नापी नक्सा सम्पन्न भइसके पनि दर्ता प्रक्रिया पूरा हुन बाँकी रहेका धनुषाका अन्य गाउँ ब्लक तथा स्ववासी प्रकृतिका जग्गाको विवरणसमेत कार्यालयले अध्ययन गरिरहेको प्रमुख उमेशकुमारले जानकारी दिए।