काठमाडौं । जापानमा आयोजना हुने एसियन गेम्स २०२६ को क्रिकेटतर्फ नेपालले समूह चरणमा अफगानिस्तान र आयोजक जापानसँग प्रतिस्पर्धा गर्ने भएको छ।
समूह ‘ए’ मा रहेको नेपालले समूह चरण पार गरेपछि क्वाटरफाइनलमा भारत वा श्रीलंकामध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल समूह विजेता बने श्रीलंकासँग र उपविजेता भए भारतसँग खेल्नेछ।
नेपालले यसअघि सन् २०२३ मा चीनमा भएको एसियन गेम्सको क्वाटरफाइनलमा भारतसँग प्रतिस्पर्धा गरेको थियो। उक्त खेलमा नेपाल पराजित भएको थियो।
प्रतियोगिताको समूह ‘बी’ मा हङकङ, मलेसिया र ओमान रहेका छन्। भारत, बंगलादेश, श्रीलंका र पाकिस्तान भने सोझै क्वाटरफाइनलमा प्रवेश गरेका छन्। दुवै समूहबाट शीर्ष दुई टोली क्वाटरफाइनलमा पुग्नेछन्।
नेपालले सिंगापुरमा सम्पन्न एसियन गेम्स छनोट प्रतियोगितामा अपराजित रहँदै २०२६ को एसियन गेम्समा स्थान सुरक्षित गरेको हो।