कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माणका क्रममा पहिरो खस्दा दुई कामदारको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
पहिरोमा परी गम्भीर घाइते भएका धनकुटाको पाख्रीबास नगरपालिका–८ का २६ वर्षीय आयुष राई र खोटाङको केपिलासगढी गाउँपालिका–१ का २७ वर्षीय किसान राईको उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार दुवै जनाको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
घटनामा इलाम घर भएका ३२ वर्षीय भक्तबहादुर मगर घाइते भएका छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको र घुँडामा चोट लागेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आज बिहान करिब ११ बजे आयोजनाको पहुँचमार्ग निर्माणका लागि सडक खन्ने क्रममा माथिबाट अचानक पहिरो खसेको थियो । पहिरोमा परेका कामदारलाई स्थानीयवासी र प्रहरीले तत्काल उद्धार गरी उपचारका लागि मणिपाल शिक्षण अस्पताल पुर्याएका थिए ।
सुपर सेती जलविद्युत् आयोजना माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन २४ मेगावाट क्षमताको जलविद्युत् आयोजना हो।