काठमाडौँ । बाढी र पहिरोका कारण देशभरका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार रसुवाका सबै मुख्य राजमार्गसहित त्रिशूली–स्याफ्रुबेंसी सडकखण्ड बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा ठूलो पहिरो खसेपछि यातायात पूर्ण रूपमा बन्द भएको छ। सोही राजमार्गको परेवाभीर क्षेत्रमा भने साना सवारीसाधन एक लेनबाट सञ्चालन भइरहेका छन्।
त्यस्तै, म्याग्दीको बेनी–जोमसोम सडकखण्ड, मुगुको मुगु–गमगढी सडक, बझाङको जयपृथ्वी राजमार्ग र अर्घाखाँचीको सालझण्डी–ढोरपाटन सडकखण्ड पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्।
रोल्पाको शहीद मार्गअन्तर्गत दुईखोली र भालखोर क्षेत्रमा पहिरो गएपछि यातायात सञ्चालन हुन सकेको छैन। काठमाडौँ–धादिङ जोड्ने चन्द्रागिरि–चिसापानी क्षेत्रमा सडक एकतर्फी रूपमा सञ्चालनमा छ।
यसैगरी, बीपी राजमार्गको खुर्कोट–नेपालथोक खण्डमा १० टनसम्मका सवारीसाधनलाई निश्चित समय तोकेर मात्र आवागमनको अनुमति दिइएको प्रहरीले जनाएको छ।
नुवाकोटको टोखा–छहरे सडकखण्डमा रातिको समयमा यात्रा गर्न रोक लगाइएको छ। बाढीका कारण बेत्रावतीस्थित पासाङ ल्हामु सडकखण्ड पनि पूर्ण रूपमा बन्द रहेको प्रहरीले जनाएको छ।
सडकको अवस्था र प्रतिकूल मौसमलाई मध्यनजर गर्दै नेपाल प्रहरीले अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।