स्याङ्जा । वालिङ नगरपालिका–१ यवादीस्थित धनुबाँसे आयुर्वेद औषधालयको भवन निर्माण पाँच वर्षदेखि अलपत्र परेको छ । स्थानीयवासीलाई सहज रूपमा आयुर्वेदिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले निर्माण थालिएको भवन निर्माण व्यवसायीको ढिलासुस्तीका कारण लामो समयदेखि अधुरै रहेको हो ।
सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय पोखराअन्तर्गत विसं २०७७ फागुनमा सेफ इन्जिनियरिङ बिल्डर्स प्रालि चितवनसँग १८ महिनाभित्र भवन निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । तर, निर्माण कम्पनीले समयमै काम नगर्दा सम्झौताको अवधि सकिएको लामो समय बितिसक्दा पनि भवन पूरा हुन सकेको छैन ।
सङ्घीय सहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन एकाइ पोखराका इन्जिनियर लक्ष्मण लम्सालका अनुसार भवनको हालसम्म करिब आधामात्रै निर्माण सम्पन्न भएको छ । तोकिएको समयभित्र काम नसकिएपछि कार्यालयले ठेक्का तोड्ने आशयको सूचना जारी गरिसकेको उनले बताए । भदौ मसान्तसम्म पनि निर्माण कम्पनीले काममा तदारुकता नदेखाए ठेक्का रद्द गर्ने तयारी रहेको उनको भनाइ छ ।
‘सकेसम्म यही निर्माण कम्पनीबाट भवन सम्पन्न होस् भन्ने कार्यालयको चाहना हो,’ लम्सालले भने, ‘नियमित रूपमा काम गरेको भए अहिलेसम्म धेरै समय लाग्ने थिएन । अहिले पनि करिब आधा काम बाँकी छ ।’
भवन निर्माणमा ढिलाइ भएपछि कार्यालयले पटकपटक निर्माण कम्पनीलाई समयमै काम सम्पन्न गर्न पत्राचार गरे पनि अपेक्षित प्रगति हुन सकेको छैन ।
वालिङ–१ का वडाध्यक्ष पदमराज गुरुङका अनुसार स्थानीयवासी तथा जनप्रतिनिधिले निर्माणलाई तीव्रता दिन पटकपटक आग्रह गर्दै आएका छन् । ‘हजारौँ नागरिकलाई स्वास्थ्य सेवा दिने उद्देश्यले निर्माण सुरु गरिएको औषधालय निर्माण व्यवसायीको लापरबाहीका कारण अलपत्र परेको छ,’ उनले भने, ‘समयमै काम सक्न निरन्तर अनुरोध गर्दै आएका छौँ । निर्माणका क्रममा कुनै समस्या भए त्यसको समाधानमा स्थानीय र जनप्रतिनिधि सहयोग गर्न तयार छौँ, तर निर्माण कम्पनीले कामलाई प्राथमिकता दिएन ।’
भवन समयमा निर्माण सम्पन्न नहुँदा औषधालय भाडाको भवनबाट सञ्चालन गर्नुपर्ने बाध्यता रहेको कार्यालय प्रमुख हरिप्रसाद अर्यालले बताए । भवनको अभावमा औषधालयले प्रदान गर्नुपर्ने सम्पूर्ण सेवा सञ्चालन गर्न नसकिएको उनको भनाइ छ ।
‘स्थान अभावका कारण औषधालयका केही महत्वपूर्ण सेवा बन्दजस्तै छन्,’ अर्यालले भने, ‘मेडिकल योगा, शिरोधारालगायतका सेवा तथा औषधि निर्माणको कामसमेत अहिले सञ्चालन गर्न सकिएको छैन ।’
उनका अनुसार हाल औषधालयबाट सामान्य स्वास्थ्य सेवा, औषधोपचार र स्वास्थ्य परामर्शका सेवा मात्र सञ्चालन भइरहेका छन् । निर्माणाधीन भवन पूरा नहुँदा आयुर्वेदिक उपचारका थप सेवा विस्तारमा समेत समस्या भएको छ।