काठमाडौं। रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकाहरूका आफन्तले कुशको शव बनाएर अन्तिम संस्कार गर्न थालेका छन्।
बाढीपछि लामो समयसम्म सम्पर्कविहीन रहेका आफन्तको शवसमेत फेला नपरेपछि परिवारजनले शुक्रबार पशुपति आर्यघाटमा कुशको शवको प्रतिमा बनाएर संयुक्त रूपमा दाहसंस्कार गरेका हुन्।
सम्पर्कविहीन आफन्तको मृत्यु भएको मानेर गरिएको अन्तिम संस्कारमा परिवारजन भावविह्वल देखिएका थिए। पशुपति क्षेत्र विकास कोषले बेपत्ताका आफन्तका लागि निःशुल्क दाहसंस्कारको व्यवस्था मिलाएको छ।
रसुवाको बाढीमा मृत्यु भएका १ हजार २५९ जनाको शव फेला परेको जनाइएको छ। तीमध्ये अहिलेसम्म ९३ शवको मात्र सनाखत भएको छ। अझै ५ हजारभन्दा बढी नागरिक सम्पर्कविहीन रहेको बताइएको छ।
सरकारले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत बाढी प्रभावित जिल्लामा खोज तथा उद्धार कार्य जारी राखेको छ।