काठमाडौं। रसुवाको भोटेकोशीमा १० भदौमा आएको भीषण बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङबाट शुक्रबार उद्धार गरिएका मेकानिकल फोरम्यान सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य र स्थिर रहेको छ।
उद्धारलगत्तै साहलाई छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा ल्याइएको थियो। चिकित्सकको निगरानीमा रहेका उनको स्वास्थ्य अवस्था सामान्य र स्थिर रहेको आफन्त देवकुमार साहले बताए।
लामो समयसम्म सुरुङभित्र फसेका साह जीवितै उद्धार भएपछि परिवारजन आश्चर्यचकित भएको देवकुमारले बताए। उनका अनुसार साहको परिवारका सदस्य उनलाई भेट्न काठमाडौं आउँदै छन्।
‘सञ्जय साह मेरो बहिनी ज्वाइँ हुनुहुन्छ, हामी सरप्राइज नै भयौँ । यतिधेरै दिन भइसकेको थियो विस्तारै उहाँ फर्किने आशा मर्दै गएको थियो । अहिले चमत्कारजस्तै भयो । उहाँको परिवारमा पनि खुसिको सीमा छैन । अहिले उहाँको परिवार आइरहनुभएको छ, कति बेला पुग्नुहुन्छ ? सायद २, ३ बजे पुग्नुहुन्छ कि ।’
नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र प्राविधिक विज्ञ सम्मिलित संयुक्त टोलीले शुक्रबार बिहान साहको उद्धार गरेको थियो।
सुरुङभित्र अझै अन्य व्यक्ति फसेको हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै नेपाली सेनासहितको प्राविधिक टोलीले उद्धार तथा खोजी कार्य जारी राखेको छ।