काठमाडौं। रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले त्रिशूली–३ ‘ए’को सुरुङभित्र फसेका ललितपुरका कविर महर्जन १० दिनपछि शुक्रबार जीवितै बाहिर निकालिएका छन्। नेपाली सेनासहित विज्ञ र प्राविधिकको टोलीले शुक्रबार बिहान उनको सकुशल उद्धार गरी काठमाडौं ल्याएको हो।
अहिले सैनिक अस्पताल छाउनीको आईसीयूमा उपचाररत महर्जनलाई भेट्न पुगेकी श्रीमती हिराशोभा महर्जनले उनको अवस्था सुधारोन्मुख रहेको बताइन्। उनका अनुसार उद्धार गरेर ल्याउँदा कविरले उनलाई समेत चिन्न सकेका थिएनन्। अहिले भने अलिअलि बोल्न थालेका छन्।
‘अहिले ठिकै छ, अलिअलि बोल्नुभएको छ । आउने बेलामा त त्यस्तो बोल्न सकिराख्नुभएको थिएन । मलाई नै चिन्नुभएन शुरुमा त ।’
उनका खुट्टामा सामान्य चोट लागेको छ भने शरीर पहेँलो भएको हिराराशोभाले बताइन्। चिकित्सकको निगरानीमा उनको उपचार भइरहेको छ।
कविर १० भदौमा आएको बाढीपछि सुरुङभित्र फसेका थिए। १० दिनसम्म उनको उद्धार हुन नसकेपछि परिवारमा उनी सकुशल फर्किने आशा कमजोर हुँदै गएको थियो। तर शुक्रबार सेनासहितको उद्धार टोलीले उनलाई जीवितै बाहिर निकालेपछि परिवारमा खुसी छाएको छ।
‘उहाँ फर्किनुहुन्छ भनेर विश्वास नै लागेको थिएन । उहाँ फर्किँदा हामी एकदमै खुसि छौँ । परिवारमा सबै खुसि हुनुभएको छ । नेपाल आर्मीले उहाँको जीवन बचाइदिनुभएकोमा धन्यावाद ।’
महर्जन त्रिशूली–३ ‘ए’ आयोजनामा मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत छन्।