काठमाडौँ । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरका मुख्य राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीका अनुसार बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा पहिरो खस्दा तथा बाढी आउँदा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।
धादिङ खण्डमा पर्ने पृथ्वी राजमार्ग बाढी–पहिरोबाट बढी प्रभावित भएको छ। बेनीघाट रोराङ–७ स्थित कृष्णभिर र गजुरी–२ को परेवाभिरमा ठूलो पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको छ। बेनीघाट रोराङ–१० को ज्वाडु खोला तथा थाक्रे–२ को कमेरेभिरमा पहिरो पन्छाइए पनि सडक एकतर्फी रूपमा मात्र सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।
बीपी राजमार्ग अन्तर्गत काभ्रेको खुर्कोट–नेपालथोक सडकखण्डमा बाढीको जोखिमलाई मध्यनजर गर्दै साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने सडकको अवस्था हेरेर मात्रै सवारी सञ्चालन गर्न दिइएको छ।
यसैगरी, पासाङ ल्हामु सडकखण्डको सिटारमा बाढी आएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। विदुर–लाच्याङ र टोखा–छहरे सडकखण्ड पनि बाढी तथा पहिरोका कारण प्रभावित भएका छन्।
रसुवाको उत्तरगया–५ स्थित खाल्टेमा बाढी आएपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेसी सडक लामो समयदेखि बन्द रहेको छ।
गण्डकी प्रदेशतर्फ बेँसीसहर–मनाङ सडकखण्डको खर्करे भिरमा पहिरो खसेपछि यातायात पूर्ण रूपमा रोकिएको छ।
त्यस्तै, कर्णालीको मुगु–गमगढी सडकखण्डअन्तर्गत ताल्चामा पहिरो खसेपछि यातायात ठप्प भएको छ। सुदूरपश्चिमको बैतडीस्थित गोठालापानी–झुलाघाट सडकखण्डमा पनि पहिरो गएपछि सडक पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ।