काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक बाहिरबाट देखिएजस्तो शान्त नरहेको र जनतामा बढ्दो असन्तुष्टि तथा आक्रोशले जुनसुकै बेला जनउभारको रूप लिनसक्ने विश्लेषण गरेका छन्।
सोमबार काठमाडौंको खुलामञ्चमा जारी कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्रमा बोल्दै थापाले दुई तिहाइ बहुमतको सरकार रहेकाले मुलुकको अवस्था सामान्य देखिए पनि समाजभित्र असन्तुष्टि चुलिँदै गएको बताए।
पूर्वी तराईका सुनसरी र सिराहालगायत क्षेत्रमा पछिल्लो समय देखिएको साम्प्रदायिक तनावको उदाहरण दिँदै उनले सानो घटनाले पनि ठूलो रूप लिनसक्ने अवस्था रहेको बताए।
‘सानो एउटा घटनाले पनि एकाएक आगो बल्न सक्ने अवस्था छ,’ उनले भने, ‘यो नेपाली कांग्रेसको विश्लेषण हो।’
थापाले नेपाली समाजमा रहेको असन्तुष्टिका कारण सम्बोधन नभएको भन्दै सरकारको ध्यान त्यसतर्फ केन्द्रित हुनुपर्ने बताए। समस्या एकातिर रहे पनि सरकार अर्कै बाटोमा हिँडिरहेको उनको भनाइ थियो।
रोजगारीका लागि दैनिक ठूलो संख्यामा नेपाली विदेशिने क्रम नरोकिएकोप्रति पनि उनले चिन्ता व्यक्त गरे। उनका अनुसार अहिले पनि दैनिक करिब २ हजारदेखि २ हजार ५ सय नेपाली रोजगारीका लागि विदेशिने गरेका छन्।
विदेशमा रहेका नेपालीले पठाउने रकमका कारण बैंकिङ प्रणालीमा ठूलो रकम थुप्रिएको उल्लेख गर्दै थापाले त्यसलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए।