काठमाडौं। भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा र नुवाकोटको सीमावर्ती क्षेत्र तहसनहस बनाएपछि विस्थापितहरू सरकारको उद्धार, राहत र पुनःस्थापनाको पर्खाइमा छन्। बाढीले सयौँको ज्यान गएको र ठूलो संख्यामा मानिस सम्पर्कविहीन भएको स्थानीयको भनाइ छ। टिमुरे, बेत्रावती, स्याँप्रुवेशीलगायत बजार र बस्ती बगरमा परिणत भएका छन्।
बेत्रावतीबाट आफन्तको सहयोगमा करिब नौ घण्टा यात्रा गरेर आइतबार राति काठमाडौं आइपुगेका बाढीपीडितले प्रभावित क्षेत्रमा उद्धार र राहत समयमै पुग्न नसकेको गुनासो गरेका छन्। उनीहरूका अनुसार नुवाकोटको विदुरमा राहत सामग्री थुप्रिए पनि रसुवातर्फ लैजान सकिएको छैन।
रसुवाको उत्तरगया गाउँपालिका–५, बेत्रावतीकी शान्ति अधिकारीका अनुसार बाढीको सूचना पाएपछि स्थानीय आफैं एकअर्कालाई खबर गर्दै ज्यान जोगाउन भागेका थिए। उनका अनुसार पूर्ववडाध्यक्षले स्कुटरमा गाउँ घुम्दै सूचना दिएपछि धेरैले ज्यान जोगाउन सके। तर प्रहरीबाट समयमै सूचना नआएको उनको गुनासो छ।
‘मेरो दुई रोपनीमा घर थियो, अहिले नामनिशाना छैन, सुकुम्बासी भइयो,’ अधिकारीले भनिन्। उनका अनुसार बाढीअघि रसुवातर्फ मात्रै करिब सय घरको बस्ती थियो। अहिले रसुवा र नुवाकोट दुवैतर्फ घरबस्तीको अस्तित्व नरहेको उनले बताइन्। राहत रसुवासम्म पुर्याउन, सडक र पुल निर्माण गर्न तथा विस्थापितलाई पुनःस्थापना गर्न उनले सरकारसँग आग्रह गरेकी छन्।
नुवाकोटतर्फकी बेत्रावतीवासी लक्ष्मी डंगोलले पनि प्रभावकारी पूर्वसूचना नपाउँदा ठूलो मानवीय क्षति भएको बताइन्। बाढी आएको थाहा पाएपछि श्रीमानसँगै डाँडातिर भागेर ज्यान जोगाएको उनले बताइन्।
‘सरकारले अब सासको उद्धार गर्न नसके पनि लासको खोजी गरिदिए हुन्थ्यो,’ डंगोलले भनिन्।
उनका अनुसार बाढी आएको दिन फसेका मानिसहरू उद्धारका लागि गुहार मागिरहेका थिए। नजिकै सेना र प्रहरीको उपस्थिति भए पनि तत्काल उद्धार हुन नसकेको उनको गुनासो छ। बाढीमा उनकी बहिनीसहित परिवारका धेरै सदस्यले ज्यान गुमाएका छन्। हेलिकोप्टर देखिए पनि फसेकाहरूको उद्धार नभएको उनले बताइन्।
रसुवाकी शान्ता थापाका अनुसार बाढीमा ज्यान गुमाएकाहरूको शव अझै बगरमा छरिएका छन्। केही शव गन्हाउन थालिसक्दा पनि सेना, प्रहरी र सशस्त्र प्रहरी उद्धार तथा शव खोजीमा नपुगेको उनको गुनासो छ।
‘राहत अहिलेसम्म पाएको छैन, गाँस, बास र कपासको व्यवस्था सरकारले गर्नुपर्छ,’ थापाले भनिन्। बाढीले घरबारविहीन भएकालाई सुरक्षित स्थानमा तत्काल पुनःस्थापना गर्नुपर्ने उनको माग छ।
बेत्रावतीका व्यापारी निर्मल प्याकुरेलका परिवारका चार जना बाढीपछि सम्पर्कविहीन छन्। तीमध्ये उनकी आमा, बाजे र पसलमा काम गर्ने एक महिला छन्। बाढीले उनको पसलमा रहेका ५० लाख रुपैयाँभन्दा बढी मूल्यका सामानसमेत बगाएको छ।
‘सरकारलाई खोजिदिन आग्रह गर्छु,’ प्याकुरेलले भने।
उनका अनुसार रसुवाका प्रभावित क्षेत्रमा ग्यास, नुन, चामल र तेलको अभाव हुन थालेको छ। विदुरसम्म राहत पुगे पनि रसुवातर्फ बाटो अवरुद्ध भएकाले पुग्न नसकेको उनले बताए। काठमाडौं आइपुगेका पीडितलाई भन्दा गाउँमै अलपत्र परेकालाई तत्काल राहत आवश्यक रहेको उनको भनाइ छ।
बेत्रावतीकै रानु अधिकारीका अनुसार ऐतिहासिक बेत्रावती बजारको अहिले अस्तित्व नै छैन। बस्ती खोलाको छेउमा भएकाले क्षति भएको भन्ने तर्कप्रति असन्तुष्टि जनाउँदै उनले बेत्रावती नयाँ बस्ती नभई ऐतिहासिक बजार भएको बताइन्।
‘सरकारले सास नभए पनि कम्तीमा लास खोजिदिओस्,’ उनले भनिन्।
उनका अनुसार बेत्रावती र त्यसभन्दा माथिका गाउँमा अझै राहत पुगेको छैन। काठमाडौं आइपुगेका पीडितले आफ्नो व्यवस्था आफैं गर्न सक्ने भन्दै उनले गाउँमै रहेका विस्थापितको उद्धार, राहत र पुनःस्थापनामा सरकारको ध्यान जानुपर्ने बताइन्।
बाढीपछि सरकारले संकलन गरेको राहत सामग्री नुवाकोटको विदुरमा थुप्रिएको तर रसुवातर्फ प्रभावकारी रूपमा उद्धार र राहत पुग्न नसकेको पीडितहरूको गुनासो छ। उनीहरूले नुवाकोटबाट रसुवाको चीन सीमासम्म सडक पहुँच खुलाएर राहत पुर्याउन माग गरेका छन्।
काठमाडौं आइपुगेका पीडितको तत्कालको आवश्यकता भन्दा पनि बाढी प्रभावित क्षेत्रमा अलपत्र परेकाको उद्धार, राहत र पुनःस्थापनालाई प्राथमिकता दिनुपर्ने उनीहरूको आग्रह छ।