काठमाडौं। रसुवा बाढीका कारण जलविद्युत् आयोजनाका भूमिगत पावरहाउसमा फसेका कामदारको उद्धारमा सबैभन्दा ठूलो चुनौती नै पुरिएका संरचनाको स्थान पहिचान गर्नु भएको नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक किरणकुमार श्रेष्ठले बताएका छन् ।
त्रिशूली–३ ‘ए’ लगायतका आयोजनाका संरचना बाढी र लेदोले पुरिएपछि सुरुङ तथा पावरहाउसको वास्तविक स्थान पत्ता लगाउनै कठिन भएको उनले बताए । बाढीपछि नेपाली सेना, आयोजनाका प्राविधिक र अन्य टोलीले खोजी गरे पनि तत्काल पावरहाउसको स्थान पहिचान हुन नसकेको उनले जानकारी दिए ।
‘शुरुमा त हामीले पावर हाउस कहाँ पुरिएको छ भन्ने नै लोकेट गर्न सकेनौँ,’ श्रेष्ठले भने, ‘भोलिपल्ट सर्भे टोली पठाएपछि मात्रै पावर हाउसको लोकेसन पत्ता लगाउन सकियो ।’
उनका अनुसार बाढीको दोस्रो दिन हेलिकोप्टरबाट सर्वेक्षण टोली पठाएपछि त्रिशूली–३ ‘ए’ को पावरहाउस रहेको स्थान पहिचान गरिएको थियो । आयोजनास्थलमा रहेका दुई एक्साभेटरमध्ये एउटा सञ्चालनयोग्य भेटिएपछि पुरिएको क्षेत्र खन्न त्यसको प्रयोग भइरहेको छ । उद्धार तथा उत्खननमा नेपाली सेना र सशस्त्र प्रहरीका टोली परिचालन गरिएको छ ।
भूमिगत पावरहाउस भएकाले सुरुङभित्र हावा सञ्चित हुन सक्ने र विद्युत् बाहिर लैजान बनाइएको छुट्टै सुरुङबाट केही हावा आवतजावतको सम्भावना रहेकाले फसेका कामदार जीवितै हुन सक्ने आशा रहेको श्रेष्ठले बताए ।
‘त्यहाँ ट्रयाप्ड एयर हुन सक्छ,’ उनले भने, ‘त्यसका कारण त्यहाँबाट अलिअलि हावा पास भइरहेको हुनसक्छ र मानिसहरू जीवितै छन् कि भन्ने आशा छ ।’
त्रिशूली–३ ‘बी’ को अवस्था भने अझ चुनौतीपूर्ण रहेको उनले बताए । बाढीको लेदोले आयोजना क्षेत्र पूर्ण रूपमा पुरिएकाले कहाँबाट उत्खनन सुरु गर्ने भन्ने स्थान पहिचान गर्नसमेत कठिन भएको उनको भनाइ छ । सम्बन्धित कम्पनी, प्राधिकरण, नेपाली सेना र सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएको छ ।
त्रिशूली क्षेत्रमा रहेका अन्य आयोजनामा भने पहुँच तुलनात्मक रूपमा सहज रहेकाले करिब ३ सय ५० कामदारलाई सुरुङबाट निकालिसकिएको श्रेष्ठले जानकारी दिए ।
बाढीपछि विद्युत् तथा सञ्चार संरचना अवरुद्ध हुँदा क्षतिको वास्तविक अवस्था र सुरुङभित्र फसेका व्यक्तिको संख्या तत्काल यकिन गर्न नसकिएको उनले बताए । प्रारम्भिक क्षति आकलन, सूचना संकलन र उद्धार सामग्री तथा विशेषज्ञ जनशक्ति परिचालनमा देखिएका कमजोरीले उद्धार थप जटिल बनेको उनको भनाइ छ ।
‘क्षति अत्यन्त ठूलो छ । त्यसपछि क्षतिको आकलन गर्नुपर्छ,’ श्रेष्ठले भने, ‘यदि हामीले आफैँले गर्न सक्दैनौँ भने विदेशी सहयोग लिन पनि हिचकिचाउनु हुँदैन ।’
उनले ठूलो विपद्का लागि राज्यसँग आवश्यक स्रोत, विशेषज्ञता र तत्काल परिचालन गर्न सक्ने प्राविधिक क्षमता पर्याप्त भए–नभएको समीक्षा गर्नुपर्ने बताए । नदी बेसिनदेखि त्रिशूलीसम्म भएको क्षति अपेक्षाभन्दा ठूलो रहेकाले भविष्यमा विपद् व्यवस्थापनको क्षमता विस्तार गर्नुपर्नेमा उनले जोड दिए ।
यसैबीच, प्राधिकरणले बाढीबाट अवरुद्ध विद्युत् वितरण प्रणाली पुनः सञ्चालनको काम पनि अघि बढाएको छ । नुवाकोट क्षेत्रमा काठमाडौंलगायतका स्थानबाट वैकल्पिक व्यवस्था गरी विद्युत् आपूर्ति सुचारु गरिएको तथा रसुवाको बेत्रावती र स्याफ्रु क्षेत्रमा प्रणाली अलग–अलग रूपमा सञ्चालनमा ल्याउने काम भइरहेको श्रेष्ठले बताए ।
उनका अनुसार शनिबार साँझसम्म ती क्षेत्रमा विद्युत् वितरण प्रणाली पुनःस्थापित गर्ने लक्ष्य छ । ठूलो विपद्का बीच त्रिशूली क्षेत्रमा करिब १२ देखि १६ घण्टामै वितरण प्रणाली पुनः सञ्चालन गर्न सफल भएको प्राधिकरणको दाबी छ ।