काठमाडौँ । पाकिस्तानको ब्रोड पिकमा गएको हिमपहिरोमा परी मृत्यु भएका तीन नेपालीको शव मंगलबार काठमाडौं ल्याइएको छ।
गत साउन १४ गते भएको हिमपहिरोमा परी ज्यान गुमाएका किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव हवाईमार्फत काठमाडौं ल्याइएको हो।
सो दुर्घटनामा मृत्यु भएका पुरबहादुर गुरुङ ‘युक्त’ को शव भने यसअघि नै साउन २१ गते नेपाल ल्याइएको थियो। उनको अन्त्येष्टिसमेत भइसकेको छ।
त्यस्तै, हिमपहिरोमा परी ज्यान गुमाएका कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जाको शव भने परिवार बेलायतमा रहेकाले बेलायत नै लगिएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार दुर्घटनास्थलबाट अझै एक नेपाली, एक पाकिस्तानी र एक अमेरिकी आरोही गरी तीन जनाको शव फिर्ता ल्याउन बाँकी छ।
ब्रोड पिकमा भएको उक्त हिमपहिरोमा ६ नेपालीसहित १० जनाले ज्यान गुमाएका थिए।