इलाम । झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी पञ्चमी जोड्ने फाल्गुनन्द मार्गमा भारी मालवाहक सवारीसाधन सञ्चालनमा अनिश्चितकालीन रोक लगाइएको छ।
माङसेबुङ गाउँपालिकाका कार्यवाहक अध्यक्ष विनोदकुमार नेम्बाङका अनुसार ट्रक, टिपर, ट्रेलरलगायत भारी मालवाहक सवारीसाधनलाई सडकमा सञ्चालन गर्न रोक लगाइएको हो।
अविरल वर्षाका कारण माङसेबुङ क्षेत्रमा सडकका विभिन्न भागमा क्षति पुगेपछि यातायात सञ्चालन जोखिमपूर्ण बनेको छ। क्षतिग्रस्त सडकको मर्मत तथा पुनःस्थापनाको काम भइरहेकाले सडकलाई सुरक्षित र व्यवस्थित बनाउन मालवाहक सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको अध्यक्ष नेम्बाङले बताए।
उनका अनुसार सडक मर्मतको काम सुरक्षित र समयमै सम्पन्न गर्न उपभोक्ता समितिको आग्रहमा मालवाहक सवारी सञ्चालनमा रोक लगाइएको हो। अत्यावश्यक वस्तु ढुवानी गर्ने सवारीसाधन भने सञ्चालन गर्न दिइनेछ।
वर्षाका कारण सडक बिग्रिएपछि दैनिक आवतजावत गर्ने मालवाहक सवारीसाधनका कारण विभिन्न स्थानमा जामसमेत हुन थालेको छ। मर्मतसम्भारको काम पूरा नभएसम्म यात्रुवाहक सवारीसाधनको आवतजावत सहज बनाउन भारी मालवाहक सवारीमा रोक लगाइएको गाउँपालिकाले जनाएको छ।
दमक–चिसापानी सडक निर्माण सुरु भएको तीन दशक बितिसक्दा पनि पूर्ण रूपमा निर्माण हुन सकेको छैन। हिउँदमा धुलो र वर्षायाममा हिलोका कारण यस सडकबाट यात्रा गर्ने सर्वसाधारण तथा स्थानीयवासीले लामो समयदेखि समस्या भोग्दै आएका छन्। सडक कालोपत्र हुन नसक्दा वर्षायाममा दमकदेखि चिसोपानीसम्मको यात्रा झनै कठिन हुने गरेको छ।
झापा, इलाम र पाँचथरलाई जोड्ने यो सडकबाट हजारौँ नागरिक आवतजावत गर्नुका साथै स्थानीय कृषि उत्पादनसमेत बजारसम्म पुर्याउने गरिएको छ। सडक निर्माणमा भइरहेको ढिलाइप्रति स्थानीयवासीले लामो समयदेखि असन्तुष्टि जनाउँदै आएका छन्।