काठमाडौं। दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) आवेदनका कारण राहदानी विभागमा सेवाग्राहीको चाप बढेपछि विभागले सार्वजनिक विदाको दिनसमेत सेवा सञ्चालन गरेको छ। विभागले अत्यावश्यक परेकालाई मात्रै राहदानीका लागि आवेदन दिन आग्रह गरेको छ।
इपिएस आवेदनलाई लक्षित गर्दै विभागले साउन १४ देखि २२ गतेसम्म दुई सिफ्टमा राहदानी आवेदन दर्ता र वितरण गरिरहेको छ। बिहान ७ देखि राति ९ बजेसम्म दुई सिफ्टमा सेवा सञ्चालन गरिएको छ भने शनिबार र आइतबार पनि बिहान १० देखि बेलुका ४ बजेसम्म सेवा दिइँदै आएको छ। दैनिक करिब एक हजार पाँच सय राहदानी छपाइ गरी वितरण भइरहेको विभागले जनाएको छ।
बढ्दो चापबीच राहदानी वितरणमा ढिलाइ भएको भन्दै सेवाग्राहीले गुनासो गरेका छन्। इपिएस परीक्षाका लागि रोल्पाबाट काठमाडौं आएका तिलकबहादुर घर्ती मगरले ‘मलाई तीन दिनपछि आउनु भन्नुभएको थियो । नभए म्यासेज आउँछ भनेको थियो, तर म्यासेज पनि आएको छैन ।’ भने।
विभागका निर्देशक दीपक बञ्जाडेले नयाँ प्रणालीको स्थिरीकरण र इपिएस आवेदनका कारण एक्कासि बढेको चापले केही राहदानी वितरणमा ढिलाइ भएको स्वीकार गरे। उनका अनुसार राहदानीको अभाव नभई प्राविधिक समस्या, केही समय एसएमएस सेवा अवरुद्ध हुनु र राष्ट्रिय परिचयपत्र (एनआईडी) प्रणालीसँगको समन्वयमा देखिएको समस्याले केही फाइल प्रभावित भएका हुन्। अर्जेन्ट सेवा भने दुई कार्यदिनभित्र उपलब्ध गराउने व्यवस्था रहेको उनले बताए।
राहदानी अभाव रहेको हल्लाका कारण पनि अनावश्यक चाप बढेको उल्लेख गर्दै बञ्जाडेले अर्को सातादेखि करिब एक महिनासम्मका लागि आवेदन फाराम खुला गरिने जानकारी दिए। ‘अब अर्को हप्तादेखि हामीले फुल फ्लेज पहिला जस्तै एकदम लङ टर्मको लागि फर्महरू खोल्दैछौँ,’ उनले भने।