काठमाडौं । नेपाली सेनाले हालसम्म जटिल भूबनोट भएका ३२ वटा सडक आयोजना सम्पन्न गर्दै कुल १,४११.५४ किलोमिटर सडक निर्माण गरेको जनाएको छ।
सेनाको व्यवस्थापनमा कान्ति लोकमार्ग, कर्णाली राजमार्ग, जाजरकोट–डोल्पा, बेँसीसहर–चामे, कालीगण्डकी करिडोर तथा कर्णाली करिडोरलगायतका महत्वपूर्ण सडक आयोजना सम्पन्न भएका छन्।
सरकारले दुर्गम तथा कठिन भौगोलिक बनावट भएका क्षेत्रमा सडक सञ्जाल विस्तार गर्ने उद्देश्यले चुनौतीपूर्ण सडकखण्ड निर्माणको जिम्मेवारी नेपाली सेनालाई दिँदै आएको छ।
सैनिक प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार सीमित स्रोतसाधन, प्रतिकूल मौसम र कठिन भौगोलिक अवस्थाका बाबजुद सेनाले राष्ट्रिय गौरव तथा प्राथमिकताका सडक आयोजना सफलतापूर्वक कार्यान्वयन गर्दै वार्षिक लक्ष्य शतप्रतिशत पूरा गरिरहेको छ।
पूर्वी नेपालको रणनीतिक महत्व बोकेको खाँदबारी–किमाथाङ्का (च्याम्ताङ–घोङ्घप्पा) सडक आयोजनाअन्तर्गत १०.५१ किलोमिटर सडक निर्माण सम्पन्न गरी सेनाले गत वैशाख २८ गते सडक विभागलाई हस्तान्तरण गरेको छ। यस सडकले किमाथाङ्का क्षेत्रको विकास र भविष्यमा व्यापारिक गतिविधि विस्तारमा टेवा पुग्ने विश्वास गरिएको छ।
हाल नेपाली सेनाले कर्णाली करिडोर, दार्चुला–टिङ्कर तथा बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक आयोजना निर्माण गरिरहेको छ। महाकाली करिडोरअन्तर्गत दार्चुला–टिङ्कर (तुषारपानी–टिङ्कर) सडक आयोजनामा ७९ किलोमिटर सडक निर्माण भइरहेको छ।
अत्यन्त कठिन हिमाली भूभाग र प्रतिकूल मौसमका बाबजुद आर्थिक वर्ष २०८२/८३ मा १९.८० किलोमिटर सडक निर्माण गर्दै वार्षिक लक्ष्य पूरा गरिएको सेनाले जनाएको छ। हालसम्म आयोजनाको भौतिक प्रगति २५.०६ प्रतिशत पुगेको छ।
बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक आयोजनाअन्तर्गत मनास्लु संरक्षण क्षेत्रभित्र पर्ने ९२ किलोमिटरमध्ये हावाडाँडा–दोभान खण्डको १८ किलोमिटर सडक निर्माण सम्पन्न गरी सडक विभागलाई हस्तान्तरण गरिएको छ। आर्थिक वर्ष २०८२/८३ सम्म आयोजनाको ४०.८ किलोमिटर अर्थात् ४४.३५ प्रतिशत भौतिक प्रगति हासिल भएको छ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कर्णाली करिडोरमा सेनाले लालीबगर–दुल्लिकुन्ना तथा घाटपारीचौर–बद्रीगाउँ–भुक्काखोला गरी २२.०५ किलोमिटर सडक निर्माण गरिरहेको छ। लालीबगर–दुल्लिकुन्ना खण्डको ट्र्याक निर्माण सम्पन्न गरी सडक विभागलाई हस्तान्तरण गरिसकिएको छ भने अर्को खण्डमा निर्माण कार्य जारी रहेको छ। आर्थिक वर्ष २०८२/८३ सम्म १९ किलोमिटर सडक निर्माण सम्पन्न भई समग्र आयोजनाको भौतिक प्रगति ८६.१७ प्रतिशत पुगेको सेनाले जनाएको छ।
यसैक्रममा हुम्लाको हिल्सा–सिमकोट सडकखण्डअन्तर्गत खार्पुनाथ गाउँपालिका–५ स्थित चुवाखोलामा गत असार २२ गते बेलिब्रिज जडान गरिएको छ। यसबाट हुम्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिने तथा आर्थिक र सामरिक महत्व थप सुदृढ हुने अपेक्षा गरिएको छ।
नेपाली सेनाले संविधानप्रदत्त जिम्मेवारीअनुसार राष्ट्रिय गौरव तथा प्राथमिकताका सडक आयोजनामा नयाँ ट्र्याक निर्माण, स्तरोन्नति, आवश्यक पूर्वाधार निर्माण तथा सम्बन्धित निकायलाई हस्तान्तरणसम्मका कार्य मापदण्डअनुसार सञ्चालन गर्दै आएको जनाएको छ। सेनाका अनुसार यी आयोजनाको मुख्य उद्देश्य दुर्गम तथा रणनीतिक महत्वका क्षेत्रलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्दै सामाजिक, आर्थिक तथा राष्ट्रिय सुरक्षालाई दीर्घकालीन रूपमा सुदृढ बनाउनु हो।