जनकपुरधाम। तराईका विभिन्न जिल्लामा देखिएको तनावको अवस्थाबीच गृहमन्त्री सुधन गुरुङले शनिबार जनकपुरधाममा आन्दोलनरत पक्षसँग वार्ता सुरु गरेका छन्।
गृहमन्त्री गुरुङले हिन्दु सम्राट सेना लगायत आन्दोलनरत समूहका प्रतिनिधिसँग छलफल थालेका हुन्। साउन १० गते सुनसरीको कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपमा दुई युवकको मृत्यु भएपछि तराईका विभिन्न जिल्लामा प्रदर्शन र आन्दोलन चर्किएको थियो। त्यसक्रममा सिरहामा भएको प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर थप एक युवकको मृत्यु भएको थियो।
गृहमन्त्री गुरुङ शान्ति–सुरक्षाको अवस्था बुझ्न र आन्दोलनरत पक्षसँग संवाद गर्न तराई भ्रमणमा रहेका छन्। वार्तामार्फत तनाव समाधान र सामाजिक सद्भाव कायम गर्ने प्रयास भइरहेको सरकारी अधिकारीहरूले जनाएका छन्।
यसअघि प्रशासनले केही जिल्लाबाट कफ्र्यु हटाए पनि सुरक्षा अवस्थालाई ध्यानमा राख्दै केही स्थानमा निषेधाज्ञा भने कायम राखिएको छ।