काठमाडौं । पाकिस्तानको काराकोरम क्षेत्रमा रहेको ब्रड पिक हिमालमा बिहीबार गएको भीषण हिमपहिरोमा परेका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) सहित सबै १० जना आरोहीको मृत्यु भएको आधिकारिक रूपमा पुष्टि भएको छ।
हिमपहिरोपछि बेपत्ता भएका आरोहीमध्ये चारजनाको शव शुक्रबार फेला परेको थियो भने बाँकी छ जना सम्पर्कविहीन रहेका थिए। शनिबार निम्स दाइ फाउन्डेसन र एलिट एक्सपिडिसनले सामाजिक सञ्जालमार्फत सबै बेपत्ता आरोहीको निधन भएको पुष्टि गरेका हुन्।
दुर्घटनामा निर्मल पुर्जासहित छ जना नेपाली आरोहीले ज्यान गुमाएका छन्। मृत्यु हुने अन्य नेपालीमा पुरबहादुर गुरुङ, निमा शेर्पा, किलीपेम्बा शेर्पा, ग्यालु शेर्पा र नवाङ थिन्डु शेर्पा रहेका छन्।
यस्तै, विदेशी आरोहीहरूमा पाकिस्तानका सोहेल शाखी, चीनका वाङ झोङ, ओमानकी नादिरा अहमद र अमेरिकाकी म्यालोरी गेइसको पनि निधन भएको छ।
सन् २०१९ मा निर्मल पुर्जाले विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल ६ महिना ६ दिनमै आरोहण गर्दै विश्व कीर्तिमान कायम गरेका थिए। उक्त उपलब्धिले उहाँलाई अन्तर्राष्ट्रिय पर्वतारोहण जगतमा विशेष पहिचान दिलाएको थियो।
प्रारम्भिक विवरणअनुसार, हिमपहिरोले आरोहीहरूलाई ६ हजार मिटरभन्दा माथिबाट करिब ८०० मिटर तलसम्म बगाएको थियो। प्रतिकूल मौसमका कारण तत्काल उद्धार तथा खोजी कार्यमा समेत कठिनाइ भएको थियो।
निर्मल पुर्जाका व्यावसायिक सहकर्मी तथा प्रतिनिधिसभा सदस्य मिङ्मा ग्याबु (डेभिड) शेर्पा शुक्रबार नै घटनास्थलतर्फ पाकिस्तान प्रस्थान गरेका थिए।
मृत्यु हुने नेपाली आरोहीमध्ये पुरबहादुर गुरुङ गोरखाका, किलीपेम्बा शेर्पा दोलखाका, ग्यालु शेर्पा ओखलढुङ्गाका तथा निमा शेर्पा र नवाङ थिन्डु शेर्पा सङ्खुवासभाका निवासी हुन्।