काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा ज्यान गुमाएका विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ)सहित अन्य नेपाली आरोहीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन्।
शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत श्रद्धाञ्जली सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले उनीहरूको निधनले राष्ट्रलाई स्तब्ध बनाएको उल्लेख गरेका छन्। उनले आरोहण केवल शिखर चुम्ने यात्रा नभई साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको प्रतीक भएको बताएका छन्।
प्रधानमन्त्री शाहले हिमालले धेरैलाई सफलताको शिखरसम्म पुर्याउने भए पनि कहिलेकाहीँ आफ्नै काखमा सदाका लागि अँगालेर राख्ने भन्दै पर्वतारोहणको जोखिमपूर्ण पक्षसमेत स्मरण गरेका छन्।
उनले पाकिस्तानको काराकोरम पर्वतशृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो ब्रोड पिकमा विश्व कीर्तिमानधारी निर्मल पुर्जासहित नेपाली आरोहीहरूको दुःखद निधनले आफू गहिरो मर्माहत भएको उल्लेख गरेका छन्।
सन्देशमा उनले, “निर्मल पुर्जा (निम्स दाइ) लगायत सम्पूर्ण दिवङ्गत आरोहीहरूको भौतिक यात्रा मात्रै रोकिएको हो, तर उहाँहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणादायी र जीवित रहनेछ,” भन्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।
प्रधानमन्त्री शाहले दिवङ्गत आरोहीहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवार, आफन्त तथा शुभेच्छुकप्रति गहिरो समवेदना पनि प्रकट गरेका छन्।