काठमाडौं। पूर्वराष्ट्रपति डा. रामवरण यादवले राष्ट्रिय एकता र सामाजिक सद्भाव जोगाउन सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरेका छन्। उनले नेपालको विविधतालाई कमजोर पार्ने प्रयासप्रति सचेत रहन र संवाद तथा समन्वयमार्फत समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले समसामयिक विषयमा आयोजना गरेको छलफलपछि शुक्रवार सञ्चारकर्मीसँग कुरा गर्दै यादवले सुनसरी घटनापछि तराईका विभिन्न जिल्लामा भएका झडप र प्रदर्शनका क्रममा तीन जनाको मृत्यु भएकोप्रति दुःख व्यक्त गरे। उनले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै यस्ता घटना दोहोरिन नदिन राज्यले समयमै प्रभावकारी भूमिका खेल्नुपर्ने बताए।
डिजिटल र सामाजिक सञ्जालको युगमा गलत सूचना तीव्र रूपमा फैलिने भएकाले राज्य सूचना व्यवस्थापनमा थप सचेत हुनुपर्ने उनको भनाइ थियो। साथै, राजनीतिक दल, नागरिक समाज र धार्मिक अगुवालाई विश्वासमा लिएर अघि बढ्न सके यस्ता समस्या समाधान गर्न सहज हुने उनले बताए।
“विविधतामा एकता नै हाम्रो शक्ति हो। राज्यले यो शक्तिलाई पहिचान गरी सबै पक्षलाई एकजुट बनाउने कौशल देखाउनुपर्छ,” उनले भने।
संविधानको रक्षा र राष्ट्रिय एकता सुदृढ बनाउनु सबै नागरिकको साझा दायित्व भएको उल्लेख गर्दै यादवले कुनै पनि बहानामा सामाजिक विखण्डन हुन नदिन आग्रह गरे। संकटका बेला सरकारलाई मात्र दोष दिनुभन्दा समुदाय र सचेत नागरिकले पनि शान्ति, सद्भाव र सामाजिक सहिष्णुता कायम राख्न रचनात्मक भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो।
राष्ट्रपति भवन शीतल निवासमा भएको छलफलमा पूर्वउपराष्ट्रपति परमानन्द झासहित विभिन्न विशिष्ट पदाधिकारी सहभागी थिए। राष्ट्रपति पौडेलले व्यक्त गरेको राष्ट्रिय एकता र सामाजिक सद्भावप्रतिको चासोको समर्थन गर्दै यादवले सबै नेपालीलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरे।