काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्ले पारित गरेको आर्थिक विधेयकलाई फेसबुक स्टाटसमार्फत उल्ट्याउन खोजिएको भन्दै आपत्ति जनाएका छन्।
बिहीबार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा उनले राष्ट्रिय सभाले लामो छलफलपछि पारित गरेको आर्थिक विधेयकलाई सामाजिक सञ्जालमार्फत सच्याउने प्रयासले संसद्को संस्थागत भूमिकामाथि नै प्रश्न उठाएको बताए।
“त्यत्रो मेहनत गरेर पठाएको आर्थिक विधेयक एउटा फेसबुक स्टाटसले काट्न मिल्छ कि मिल्दैन ?” उनले भने।
दाहालले यस्ता विषयलाई व्यक्ति केन्द्रित नभई संस्थागत रूपमा राष्ट्रिय सभामा उठाउनुपर्ने बताए। संसद्को भूमिका, अधिकार र अस्तित्वसँग जोडिएका विषयमा राष्ट्रिय सभाले स्पष्ट धारणा बनाउनुपर्ने उनको भनाइ थियो।
उनले संविधान संशोधनको बहसलाई पनि मूल विषयमा केन्द्रित गर्नुपर्ने धारणा राखे। संविधान संशोधनको उद्देश्य प्रदेश संरचना र राष्ट्रिय सभा खारेज गर्ने, स्थानीय तहलाई निर्दलीय बनाउने वा संघीय व्यवस्थालाई थप सुदृढ बनाउनेमध्ये कुन हो भन्नेबारे सरकारसँग स्पष्ट छलफल हुनुपर्ने उनले बताए।
प्रधानमन्त्री बालेन्द्र साहले बुधबार फेसबुकमार्फत शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिएको ३ प्रतिशत समता कर तत्कालका लागि हटाइएको बताएका थिए। उक्त कर कार्यान्वयन गर्दा आमनागरिकमाथि थप आर्थिक भार पर्ने निष्कर्षपछि निर्णय फिर्ता लिइएको उनले उल्लेख गरेका थिए।