काठमाडौं । आषाढ शुक्ल पूर्णिमाका अवसरमा आज देशभर गुरु पूर्णिमा पर्व श्रद्धा, सम्मान र कृतज्ञताका साथ मनाइँदैछ। यस दिन शिक्षा, ज्ञान र संस्कार प्रदान गर्ने गुरुजनप्रति सम्मान प्रकट गर्ने परम्परा रहेको छ।
धर्मशास्त्र र तन्त्रशास्त्रअनुसार ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हो। अज्ञानरूपी अन्धकार हटाई ज्ञानरूपी प्रकाश फैलाउने व्यक्तिलाई गुरु भनिन्छ। हिन्दू दर्शनमा गुरुलाई ब्रह्मा, विष्णु र महेश्वरको स्वरूप मानिएको छ। त्यसैले शास्त्रमा भनिएको छ–
गुरुब्रह्मा गुरुविष्णु गुरुदेवो महेश्वरः।
गुरुः साक्षात् परब्रह्म तस्मै श्री गुरवे नमः।।
गुरुलाई माता–पितासरह सम्मान गर्दै ‘आचार्यदेवो भव’ भन्ने वैदिक परम्परा पनि प्रचलित छ। गुरु पूर्णिमाका अवसरमा विद्यालय, गुरुकुल तथा विभिन्न संघ–संस्थाले गुरुजनप्रति सम्मान व्यक्त गर्दै विशेष कार्यक्रम आयोजना गर्ने गरेका छन्।
व्यास जयन्ती पनि आजै
गुरु पूर्णिमाकै दिन वेदव्यासको जन्मजयन्ती अर्थात् व्यास जयन्ती पनि मनाइन्छ। वेदव्यासले वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गर्नुका साथै १८ पुराण, १८ उपपुराण र महाभारतको रचना गरेको विश्वास गरिन्छ।
व्यासले पुराणमार्फत मानवतावादी सन्देश दिँदै भनेका छन्–
अष्टादश पुराणेषु व्यासस्य वचन द्वयम्।
परोपकारः पुण्याय, पापाय परपीडनम्।।
यसको अर्थ, अरूको उपकार गर्नु पुण्य हो भने अरूलाई दुःख दिनु पाप हो भन्ने हो।
गुरु पूर्णिमा तथा व्यास जयन्तीका अवसरमा देशभरका गुरुकुल, शिक्षालय र धार्मिक संस्थामा विशेष पूजा, सम्मान तथा प्रवचन कार्यक्रम आयोजना गरिएका छन्।
यसै अवसरमा नेपाल महर्षि वैदिक फाउन्डेसनले चम्पादेवीस्थित ब्रह्मानन्द सरस्वती ग्राममा विशेष कार्यक्रम आयोजना गरेको छ। फाउन्डेसनका अध्यक्ष तथा पूर्वमन्त्री दीपकप्रकाश बास्कोटाका अनुसार कार्यक्रममा गुरु पूर्णिमाको महत्व र गुरु–शिष्य परम्पराबारे विशेष चर्चा गरिनेछ।