काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डमा सुक्खा पहिरोको जोखिम बढेपछि आज राति सवारी आवागमन बन्द गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको सूचनाअनुसार मंगलबार राति ८ बजेदेखि बुधबार बिहान ५ बजेसम्म उक्त सडकखण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो।
प्रशासनका अनुसार मुग्लिन बजार नजिक नारायणगढतर्फ सुक्खा पहिरो खसिरहेकाले रातिको समयमा सवारी सञ्चालन गर्दा मानवीय क्षति हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै यो निर्णय गरिएको हो।
यसअघि मंगलबार दिउँसो दुई पटक पहिरो पन्छाएर सडक खुलाइएको थियो। तर पहिरो खस्ने क्रम नरोकिएकाले सुरक्षा सतर्कतास्वरूप रातिको समयमा सवारी आवागमन बन्द गरिएको प्रशासनले जनाएको छ।