काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले पछिल्ला दिनहरूमा चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि भएका कुटपिट र दुर्व्यवहारका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाहीका लागि सम्बन्धित निकायहरूले आवश्यक प्रक्रिया अघि बढाइरहेको जानकारी दिएको छ।
मन्त्रालयले स्वास्थ्य सेवा जीवनरक्षक, अत्यावश्यक तथा संवेदनशील सेवा भएकाले नागरिकले उपचार सेवाबाट वञ्चित हुन नपर्ने वातावरण सुनिश्चित गर्न सबै अस्पताललाई नियमित र निर्वाध रूपमा सेवा प्रवाह गर्न आग्रह गरेको छ।
विज्ञप्तिमा स्वास्थ्यकर्मीले सुरक्षित, सम्मानजनक र निर्भय वातावरणमा सेवा दिन पाउने अधिकारको संरक्षण गर्नुपर्ने उल्लेख गर्दै चिकित्सा पेशाको गरिमा, मर्यादा र सामाजिक उत्तरदायित्वलाई सम्मान गर्न सबै सरोकारवालासँग अपील गरिएको छ।
यस्तै, स्वास्थ्य सेवा निरन्तर र प्रभावकारी रूपमा सञ्चालन हुन सहयोग, सहजीकरण तथा आवश्यक समन्वय गर्न सम्बन्धित सबै निकायलाई मन्त्रालयले आग्रह गरेको छ।
