लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटबेशीमा कुलो भत्किँदा आएको पहिरोले धन्सार पुरिँदा एकै परिवारका चार जना घाइते भएका छन् ।
मंगलबार बिहान करिब २ः३५ बजे चितिखोलाबाट भाटबेशीतर्फ ल्याइएको कुलो भत्किएर आएको पहिरोले स्थानीय विष्णुदत्त सुवेदीको ढुंगा–माटोले बनेको दुईतले कच्ची धन्सार पूर्ण रूपमा भत्काएको प्रहरीले जनाएको छ ।
धन्सारभित्र चार जना पुरिएको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय भोर्लेटारबाट प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी र स्थानीयवासीको सहयोगमा पुरिएका चारै जनाको सकुशल उद्धार गरिएको हो ।
उद्धारपछि घाइतेहरूलाई प्रारम्भिक उपचारका लागि चिसंखु स्वास्थ्य चौकी, रामबजार लगिएको थियो।
त्यसपछि थप उपचारका लागि बिहान ४ः१० बजे पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ ।
घाइते हुनेहरूमा ५० वर्षीया शुकमाया बिक, ५९ वर्षीय टिकबहादुर बिक, १५ वर्षीया बिनिता बिक र १६ वर्षीया अस्मिता बिक रहेका छन्। उनीहरू मस्र्याङ्दी गाउँपालिका–१ नायूँ घर भई हाल मध्यनेपाल नगरपालिका–७ भाटबेशीमा बस्दै आएका थिए । क्षतिको विवरण संकलन गर्ने कार्य जारी रहेको प्रहरीले जनाएको छ ।