धनगढी । धनगढी उपमहानगरपालिका–७ का ३५ वर्षीय ज्योति चौधरीको शरीरमा पेट्रोल छर्केर आत्मदाह गर्ने प्रयासपछि उपचारका क्रममा मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक कैलाश विष्टका अनुसार चौधरीले शनिबार साँझ आफ्नै घरभित्र शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। परिवारका सदस्यले तत्काल उद्धार गरी उनलाई सेती प्रादेशिक अस्पताल पुर्याएका थिए। चिकित्सकका अनुसार उनको शरीरको करिब ६० प्रतिशत भाग जलेको थियो।
गम्भीर अवस्थाका चौधरीलाई थप उपचारका लागि भेरी अस्पताल, नेपालगञ्ज रिफर गरिएको थियो। तर आफन्तले उनलाई काठमाडौंतर्फ लैजाँदै गर्दा आइतबार राति बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे सोमबार बिहान करिब ७ बजे आफन्तले प्रहरीलाई जानकारी दिएका थिए।
हाल चौधरीको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ। घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ भने यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।