जनकपुरधाम । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले लोकतन्त्रको वास्तविक अभ्यास नागरिकले आफ्नो पेशा र व्यवसायमा गर्व गर्न सक्ने वातावरणबाट मापन हुने बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषामा नवनिर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र र प्रहरी आवास भवनको उद्घाटन कार्यक्रममा उनले लोकतन्त्र केवल शब्द दोहोर्याएर स्थापित नहुने, नागरिकले आफ्नो कर्म र पेशामा आत्मसम्मान महसुस गर्न सक्ने अवस्था नै लोकतन्त्रको वास्तविक स्वरूप भएको बताए ।
“लोकतन्त्र सय पटक लोकतन्त्र भन्दैमा हुँदैन । नागरिकले आफ्नो कर्म, पेशा र व्यवसायमा गर्व गर्न सक्ने अवस्था नै वास्तविक लोकतन्त्र हो,” उनले भने ।
पसले, इलेक्ट्रिसियन, भान्से, लुगा सिलाउने व्यक्ति, प्रहरी वा मजदुर सबैले आफ्नो काममा समान सम्मान पाउनुपर्ने उल्लेख गर्दै उनले पेशा वा व्यवसायका आधारमा कोही सानो वा ठूलो नहुने बताए । लोकतान्त्रिक समाजमा सबै प्रकारका श्रम र कर्मको समान सम्मान हुनुपर्ने उनको भनाइ थियो ।
ओहदा, पेशा वा सामाजिक हैसियतका आधारमा फरक व्यवहार गर्ने प्रवृत्तिको आलोचना गर्दै कार्कीले कसैलाई विशेष सम्मान र कसैलाई अपमान गर्ने संस्कार लोकतान्त्रिक मूल्यअनुकूल हुन नसक्ने बताए । यस्तो व्यवहार घर, समाज, प्रहरी कार्यालय वा कुनै पनि सरकारी निकायमा स्वीकार्य नहुने उनको भनाइ थियो ।
प्रहरी कार्यालयमा सेवा लिन आउने सबै नागरिकलाई समान व्यवहार गर्नुपर्नेमा जोड दिँदै उनले कुनै पनि आधारमा विभेद हुन नहुने बताए । नवनिर्मित सेवा केन्द्र र प्रहरी आवास भवनले सेवाग्राहीलाई सहज सेवा प्रवाह गर्न र प्रहरी कर्मचारीको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे ।