काठमाडौं । राष्ट्रिय विभूति मुख्तियार भीमसेन थापाको २५२औँ जन्मजयन्तीका अवसरमा शनिबार काठमाडौंस्थित धरहरा परिसरमा श्रद्धाञ्जलि अर्पण गरिएको छ । कार्यक्रममा सहभागी वक्ताहरूले भीमसेन थापाको योगदान स्मरण गर्दै पछिल्लो समय राष्ट्रियताको भावना कमजोर बन्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
कार्यक्रममा प्रधानसेनापति अशोकराज सिग्देलले भीमसेन थापाको तस्बिरमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरी सम्मान प्रकट गरे । सो अवसरमा नेपाली सेनाको श्री रणभैरव गणले सम्मान सलामी अर्पण गरेको थियो ।
भीमसेन थापा स्मृति प्रतिष्ठानका अध्यक्ष प्रा.डा. पृथ्वीश्वरप्रसाद तिमिल्सिनाले भीमसेन थापाको कार्यकालका प्रशासनिक सुधार, परराष्ट्र नीति र सामाजिक गतिविधिलाई अभिलेखीकरण गर्ने उद्देश्यले प्रतिष्ठानले अनुसन्धानमूलक कृति प्रकाशन गर्दै आएको बताए । हालसम्म तीन खण्ड प्रकाशित भइसकेको उल्लेख गर्दै उनले ती सामग्रीले तत्कालीन नेपालको रक्षा नीति, कूटनीतिक अभ्यास र सामाजिक संरचनाबारे अध्ययन गर्न तथा भावी नीतिनिर्माणमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा बाबुराम सिंह थापाले वर्तमान समयमा राष्ट्रियताको भावना कमजोर बन्दै गएको भन्दै चिन्ता व्यक्त गरे । इतिहासमा देशभक्त र देशद्रोही शक्तिबीच निरन्तर संघर्ष हुँदै आएको उल्लेख गर्दै उनले अहिले देशभक्तिको धार रक्षात्मक अवस्थामा पुगेको टिप्पणी गरे ।
‘भीमसेन थापा, पृथ्वीनारायण शाह, कालु पाँडे, काजी शिवराम सिंह बस्न्यात, बहादुर शाह र बडाकाजी अमरसिंह थापाजस्ता महापुरुषहरूको बलिदानबाट मुलुकको अस्तित्व जोगिएको हो,’ उनले भने, ‘देशद्रोही प्रवृत्ति सक्रिय बन्दै गएको वर्तमान अवस्थामा सम्पूर्ण देशभक्त नेपाली एकजुट भएर राष्ट्रको पक्षमा उभिनुपर्ने आवश्यकता छ ।’
उनले विश्व राजनीतिको बदलिँदो र जटिल परिस्थितिमा नेपालजस्ता साना राष्ट्रको अस्तित्वमाथि चुनौती थपिएको उल्लेख गर्दै राष्ट्रिय हित, स्वाभिमान र सार्वभौमिकताको रक्षाका लागि सबै देशभक्त नागरिक एकजुट हुनुपर्नेमा जोड दिए ।