काठमाडौं । अभिनेता नाजिर हुसेनले आफ्नो नामकै कारण नयाँ दिल्ली विमानस्थलमा दोस्रोपटक सुरक्षा जाँचका क्रममा विशेष सोधपुछमा परेको अनुभव सार्वजनिक गरेका छन्।
आफू अभिनित फिल्म ‘गुन्यु चोलो’ को नयाँ दिल्लीस्थित नेपाली दूतावासमा विशेष प्रदर्शन सम्पन्न गरेर काठमाडौं फर्किने क्रममा विमानस्थलमा सुरक्षाकर्मीले छुट्टै कक्षमा लगेर केरकार गरेको उनले सामाजिक सञ्जालमार्फत बताएका हुन्।
नाजिरसँगै फिल्मका निर्देशक समुन्द्र भट्ट पनि दिल्ली गएका थिए। तर, भट्टलाई कुनै सोधपुछ नगरी सहज रूपमा जान दिइएको उनले उल्लेख गरेका छन्।
नाजिरका अनुसार सुरक्षाकर्मीले उनीसँग नेपाल किन जान लागेको, दिल्ली किन आएको, भारतीय मुद्रा साथमा छ कि छैन लगायतका विषयमा प्रश्न गरेका थिए।
यस घटनापछि नेपाल एयरलाइन्सको जहाजमा चढ्दा स्क्रिनमा देखिएको गुगल म्यापमा लुम्बिनी देखेपछि मात्र आफूले सहज महसुस गरेको अनुभव पनि उनले साझा गरेका छन्।
यो आफूले यस्तै प्रकारको सुरक्षा सोधपुछ भोगेको दोस्रो घटना भएको उल्लेख गर्दै नाजिरले नामका आधारमा पटक–पटक रोकिनु र विशेष कक्षमा लगेर केरकार गरिनु उचित नभएको बताएका छन्।
‘मेरो नामकै कारण म हरेक पटक रोकिन्छु र विशेष कक्षमा लगेर केरकार गरिन्छ भने यो गलत हो,’ उनले लेखेका छन्। ‘यदि त्यसो होइन भने, मलाई यसको कारण थाहा पाउने अधिकार छ।’
पहिलोपटक यस्तो घटना हुँदा सामान्य लागेको भए पनि दोस्रोपटक दोहोरिँदा भने आफूलाई स्वीकार्य नलागेको नाजिरको भनाइ छ।