काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आर्थिक वर्ष २०८२/८३ मा सम्पत्ति शुद्धीकरणसम्बन्धी सात वटा मुद्दा अदालतमा दायर गरेको छ।
विभागले बिहीबार सार्वजनिक गरेको वार्षिक विवरणअनुसार ती मुद्दामा १२१ जनालाई प्रतिवादी बनाइएको छ। उनीहरूविरुद्ध करिब रु एक खर्ब १८ अर्ब पाँच करोड बराबरको बिगो दाबी गरिएको विभागले जनाएको छ।
विभागमा प्राप्त हुने सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी सूचनालाई स्क्रिनिङ कमिटीमार्फत प्रारम्भिक समीक्षा गरिन्छ। प्रारम्भिक अनुसन्धान आवश्यक ठहरिएपछि अनुसन्धान अधिकृत तोकी कानुनी प्रक्रियाअनुसार थप अनुसन्धान अघि बढाइने व्यवस्था रहेको छ।
अनुसन्धान तथा अभियोजनका कार्य प्रभावकारी रूपमा सञ्चालन गर्न विभागमा चार वटा अनुसन्धान शाखा रहेका छन्। यसका साथै कानुन तथा परामर्श इकाई, प्रशासन तथा योजना शाखा, अनुसन्धान समन्वय शाखा तथा प्रहरी शाखाले पनि विभागीय कार्यसम्पादनमा सहयोग पुर्याउँदै आएका छन्।
विभागले राजस्व चुहावट, भन्सार, अन्तःशुल्क, व्यापारसम्बन्धी मनी लाउन्डरिङ तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धान गर्दै आएको छ। पछिल्ला समय विभागले सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्ययन, अनुसन्धान र तहकिकातलाई थप तीव्रता दिँदै आएको जनाएको छ।