काठमाडौं । काठमाडौं महानगरपालिकाले टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र आगामी मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी गरेको छ । निर्माण कार्य सकेर सकेसम्म मंसिरअघि नै केन्द्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको महानगरले जनाएको छ ।
निर्माणाधीन केन्द्रको बुधबार स्थलगत अनुगमनपछि कार्यवाहक प्रमुख सुनिता डंगोलले केन्द्र सञ्चालनमा आएपछि फोहोर व्यवस्थापन थप व्यवस्थित हुने बताइन् ।
उनका अनुसार केन्द्रमा मेटेरियल रिकभरी फेसिलिटी (एमआरएफ) रहनेछ, जहाँ यान्त्रिक प्रणालीमार्फत जैविक र अजैविक फोहोर वर्गीकरण गरिनेछ । अजैविक फोहोर पुनःप्रयोगका लागि पठाइनेछ भने जैविक फोहोर बञ्चरेडाँडा व्यवस्थापन केन्द्रमा पठाइनेछ । जैविक फोहोरलाई कम्पोस्ट मल उत्पादनमा उपयोग गर्ने योजनासमेत महानगरले बनाएको उनले बताइन् ।
डंगोलका अनुसार हाल अधिकांश स्थानमा खुला रूपमा फोहोर छुट्याउने अभ्यास भइरहेकाले प्रदूषण र स्वास्थ्य जोखिम बढिरहेको छ । त्यसलाई व्यवस्थित गर्न आधुनिक स्थानान्तरण केन्द्र निर्माण गरिएको हो ।
उनले केन्द्र सञ्चालनमा आएपछि बञ्चरेडाँडामा लैजानुपर्ने फोहोरको मात्रा घट्ने, पुनःप्रयोगयोग्य सामग्रीको व्यवस्थापन प्रभावकारी हुने र समग्र फोहोर व्यवस्थापन प्रणाली थप व्यवस्थित बन्ने बताइन् ।