काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गुरु घिमिरेले साहित्यको गहिरो बुझाइ भएको व्यक्ति मात्रै पूर्ण राजनीतिज्ञ बन्न सक्ने बताएका छन् ।
मंगलवार काठमाडौंमा आफ्ना ‘बुद्ध, वीपी र आजका नेता’ तथा ‘लिलिपुटका लघुमानव’ पुस्तकको विमोचन समारोहलाई सम्बोधन गर्दै घिमिरेले साहित्यको गहिरो अध्ययन र संवेदनाले राजनीतिक नेतृत्वलाई पनि परिपक्व बनाउने बताए ।
वीपी कोइरालाको राजनीति र साहित्य दुवै क्षेत्रमा समान उचाइ रहेको उल्लेख गर्दै उनले उनलाई नेपालको राजनीतिक र साहित्यिक इतिहासबाट अलग गरेर हेर्न नसकिने बताए । नेपाली समाजले खुलेर अभिव्यक्त गर्न कठिन ठानेका विषयलाई साहित्यमार्फत उजागर गर्नुका साथै नेपाली साहित्यमा पलायनवादी चिन्तनको प्रयोग गर्ने अग्रणी स्रष्टाका रूपमा वीपीको योगदान रहेको उनको भनाइ थियो ।
“राजनीतिमा पनि साहित्यको गहिराइ बुझेको व्यक्ति मात्रै पूर्ण राजनीतिज्ञ बन्न सक्छ । वीपी कोइराला त्यसै पूर्ण राजनीतिज्ञ बन्नुभएका होइनन् । राजनीति र साहित्य दुवै क्षेत्रमा उहाँको समान उचाइ थियो,” घिमिरेले भने, “नेपाली समाजले खुलेर अभिव्यक्त गर्न कठिन मान्ने विषयलाई उहाँले साहित्यमार्फत उजागर गर्नुभयो । राजनीतिज्ञ वीपी कोइरालालाई नेपाली साहित्यबाट अलग गर्ने हो भने नेपालको साहित्य नै अधुरो हुन्छ । राजनीतिबाट अलग गर्ने हो भने नेपालको राजनीतिक इतिहास पनि अधुरो हुन्छ ।”
उनले नेपाली काँग्रेस पूर्णतातर्फ अघि बढिरहेको दाबी पनि गरे ।