काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले वैदेशिक रोजगारीका लागि श्रमशक्ति विदेश पठाएर मात्र देशको अर्थतन्त्र सुदृढ नहुने भन्दै स्वदेशमै उत्पादन बढाएर निर्यातमुखी अर्थतन्त्र निर्माण गर्नुपर्ने बताएका छन् ।
मंगलबार तयारी पोशाक उद्योग संघका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री साहले तयारी पोशाक उद्योगको उत्पादन, निर्यात र लगानी विस्तारलाई सरकारले प्राथमिकतामा राखेको संघका अध्यक्ष पशुपतिदेव पाण्डेले जानकारी दिए ।
पाण्डेका अनुसार प्रधानमन्त्रीले बंगलादेश, भियतनाम, चीन, भारत र श्रीलंकाको तुलनामा नेपालको तयारी पोशाक उद्योग किन प्रतिस्पर्धामा पछि परेको भन्ने विषयमा उद्योगीसँग छलफल गरेका थिए । उद्योगका समस्या, निर्यात विस्तार र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिका उपायबारे पनि बैठकमा विस्तृत छलफल भएको उनले बताए ।
छलफलमा अमेरिका लगायतका मुलुकसँग स्वतन्त्र व्यापार सम्झौता (एफटीए) विस्तार, वैदेशिक प्रत्यक्ष लगानी आकर्षित गर्ने, बहुराष्ट्रिय कम्पनी भित्र्याउने तथा लामो समयदेखि बन्द रहेका हेटौंडा कपडा उद्योगजस्ता रुग्ण उद्योग पुनः सञ्चालन गर्ने विषयमा पनि छलफल भएको पाण्डेको भनाइ छ ।
प्रधानमन्त्रीले काठमाडौं उपत्यकामा छरिएर रहेका गार्मेन्ट उद्योगलाई एकीकृत गर्दै ‘ग्रीन गार्मेन्ट भिलेज’ अवधारणालाई अघि बढाउन सकिने सम्भावनाबारे चासो व्यक्त गरेका छन् । उद्योगीलाई स्पष्ट कार्ययोजना तयार गर्न आग्रह गर्दै उनले कपास खेतीदेखि फाइबर, फ्याब्रिक, फेसन र निर्यातसम्मको सम्पूर्ण उत्पादन शृंखला विकासमा जोड दिएको पाण्डेले बताए ।
संघका महासचिव भीमकुमार गिरीका अनुसार प्रधानमन्त्रीले उद्योगीलाई समस्या मात्र नभई समाधानका प्रस्तावसहित आउन आग्रह गरेका छन् । ग्रामीण क्षेत्रमा पनि उद्योग विस्तार गर्न र तयारी पोशाक उद्योगका लागि आवश्यक कच्चा पदार्थ स्वदेशमै उत्पादन गर्ने वातावरण बनाउनुपर्नेमा उनले जोड दिएका थिए ।
संघका अनुसार नेपालबाट वार्षिक करिब १० अर्ब रुपैयाँ बराबरको तयारी पोशाक निर्यात हुँदै आएको छ ।