चितवन । राष्ट्रिय निकुञ्जमा २५ जनाको ज्यान लिएको धुर्वे हात्तीलाई नियन्त्रणमा लिएर दाह्रा काटिएपछि उसको गतिविधिमा निरन्तर निगरानी सुरु गरिएको छ।
हात्तीमा रेडियो कलर जडान गरी प्रत्येक १० मिनेटमा उसको अवस्थाबारे सूचना संकलन गर्न थालिएको निकुञ्जले जनाएको छ। बिहीबार राति निकुञ्जको सुखीभार क्षेत्रमा डार्ट गरी धुर्वे हात्तीलाई नियन्त्रणमा लिइएको थियो। त्यसक्रममा रेडियो कलर जडान गर्नुका साथै दुवै दाह्रा करिब ६–६ इन्च काटिएको हो।
निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार शुक्रबार बिहान प्राप्त विवरणअनुसार धुर्वे हात्ती कसराको दक्षिणतर्फ तमोर ताल आसपास क्षेत्रमा रहेको छ। रेडियो कलरबाट हरेक १० मिनेटमा हात्तीको अवस्थाबारे जानकारी प्राप्त भइरहेको उनले बताए।
हात्तीलाई नियन्त्रणमा लिएपछि हर्मोन नियन्त्रण गर्ने औषधिसमेत प्रयोग गरिएको छ। यसअघि पनि धुर्वे हात्तीको दाह्रा काट्ने र रेडियो कलर जडान गर्ने काम पटक–पटक गरिएको निकुञ्जले जनाएको छ।
धुर्वे हात्ती बस्ती क्षेत्रमा प्रवेश गरेको सूचना प्राप्त भए तत्काल मध्यवर्ती उपभोक्ता समिति, सामुदायिक वन, वडा कार्यालय र स्थानीय समूहलाई जानकारी गराइनेछ। त्यसपछि निकुञ्जको सुरक्षा टोली गस्तीमा पुगेर हात्तीलाई सुरक्षित रूपमा जंगलतर्फ फर्काउने तयारी गरिएको सूचना अधिकारी मगरले बताए।
गत असार २० गते राति धुर्वे हात्तीले एकै परिवारका दुई जनाको ज्यान लिएको थियो। निकुञ्जका अनुसार हालसम्म उक्त हात्तीको आक्रमणबाट २५ जनाको मृत्यु भइसकेको छ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार भविष्यमा यस्ता घटना दोहोरिन नदिन उच्च सतर्कता अपनाइएको छ।
धुर्वे हात्ती चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा बढी मानवीय क्षति पुर्याउने हात्तीका रूपमा परिचित छ। विसं २०७४ मा यसले नेपाली सेनाका एक मेजरलाई आक्रमण गरी मारेको थियो। यसअघि विसं २०६८/६९ तिर लगातार मानिसमाथि आक्रमण गर्न थालेपछि जिल्ला प्रशासन कार्यालय चितवनको बैठकले हात्ती नियन्त्रणका लागि मार्ने आदेशसमेत दिएको थियो। तर, सेनाको गोलीबाट पनि यो हात्ती जोगिँदै आएको छ।
विसं २०६९ सालको कात्तिकमा माडी क्षेत्रमा एक महिनाको अवधिमा चार जनाको ज्यान लिएपछि धुर्वेलाई नियन्त्रण गर्ने निर्णय गरिएको थियो। विसं २०६६ साल माघदेखि मानिसमाथि आक्रमण गर्न थालेको यस हात्तीले २०६९ सालसम्म १५ जनाको ज्यान लिएको थियो।
चितवन राष्ट्रिय निकुञ्जमा धुर्वेसँगै रोनाल्डो र गोविन्देलगायत अन्य मत्ता हात्ती पनि रहेका छन्। प्रमुख संरक्षण अधिकृत पुनका अनुसार निकुञ्ज क्षेत्रमा हाल ४५ देखि ५० वटासम्म हात्ती रहेका छन्।