गण्डकी । गण्डकी प्रदेशको कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, मुस्ताङ र मनाङलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको जिल्ला घोषणा गरिएको छ । बाँकी पाँच जिल्ला घोषणाको तयारीमा रहेको प्रादेशिक जनस्वास्थ्य केन्द्रले जनाएको छ । बिहीबार कास्कीलाई घोषणा गरिएसँगै यस वर्ष पूर्ण खोप सुनिश्चित भएका जिल्लाको सङ्ख्या छ पुगेको हो ।
आगामी शनिबार बागलुङ, आइतबार लमजुङ, सोमबार गोरखा र तनहुँलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको जिल्ला घोषणा गनिने केन्द्रका खोप अधिकृत एकनारायण लम्सालले बताए। नवलपुरलाई यही असार मसान्तभित्र घोषणा गर्ने गरी तयारी भइरहेको उनको भनाइ छ । जन्मेदेखि २३ महिनाभित्रका बालबालिकाले आवश्यक सबै खोप पाएपछि पूर्ण खोप सुनिश्चितता एवं दिगोपना घोषणा गर्ने गरिएको छ ।
पहिलो पटक विसं २०७५ मा गण्डकी प्रदेश नै पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा भएपनि त्यसयता बर्सेनि हरेक स्थानीय तह, जिल्ला र प्रदेशलाई पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा गर्ने गरिएको खोप अधिकृत लम्सालले बताउनुभयो ।
“जन्मेदेखि २३ महिना उमेर समूहका बालबालिकाले १३ प्रकारका रोगविरुद्ध लगाइने सम्पूर्ण खोप पाएपछि पूर्ण खोप सुनिश्चितता एवं दिगोपना घोषणा गर्ने गरिएको छ”, उनले भने, “कोही पनि बालबालिका खोप पाउनबाट बञ्चित हुनु नपरोस् भनेर यो अभियान सञ्चालन हुने गर्छ ।” घोषणासँगै यसको दिगोपनाका लागि वैशाख महिनालाई खोप महिनाका रूपमा घोषणा गरी ‘खोज र खोप’ अभियान सञ्चालन गर्ने गरिएको छ ।
खोप कार्यक्रमलाई तीनै तहका सरकारले प्राथमिकता दिँदै आएका छन् । मातृ तथा नवशिशु मृत्युदर घटाउन पूर्ण खोप अभियानले सहयोग पुर्याइरहेको खोप अधिकृत लम्सालले बताए । प्रदेशका झण्डै २५ हजार बालबालिकालाई नियमित खोपको दायरामा ल्याइएको प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सबै जिल्ला घोषणा भएपछि गण्डकीलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गर्ने तयारी छ ।