काठमाडौँ। काठमाडौं उपत्यकाका अतिक्रमित तथा नदी किनारका सुकुम्वासी बस्ती खाली गराउने सरकारको अभियान अन्तर्गत आजदेखि दोस्रो चरणमा डोजर चलाउने तयारी छ ।
काठमाडौँ महानगरपालिका वडा नम्बर ११ मा पर्ने वंशीघाट क्षेत्रमा रहेका अनाधिकृत बस्ती हटाउन डोजर पुगेका छन् । ट्रकमा लोड गरेर करिब आधा दर्जन डोजर बस्तीमा पुर्याइएको हो ।
आज वंशीघाटसहित वडा नम्बर १४ को बल्खु, वडा नम्बर १५ को स्वयम्भू, वडानम्बर १६ को बालाजु तथा वडा नम्बर ३ र २६ मा पर्ने सामाखुशी, खाडिपाखा, रानीबारी लगायतका क्षेत्र अतिक्रमण गरिएका स्थानमा डोजर चलाउने तयारी छ ।
त्यसका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरीको टोली परिचालित भइसकेका छन् । मानिसहरू अझै सामान सारिरहेका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले बुधबार नै विज्ञप्ति जारी गर्दै वैशाख १८ बिहान ७ बजेबाट एकैपटक बस्ती खाली गराउने काम सुरु हुने जनाएको थियो ।
सरकारले यसअघि वैशाख १२ गतेबाट काठमाडौँका थापाथली, गैरीगाउँ, सिनामंगल, मनोहरा लगायत क्षेत्रका सुकुम्वासी बस्तीमा डोजर चलाएको थियो ।