
काठमाडौं, ७ चैत । नेकपा एमालेका सांसद ठाकुर गैरेले उर्जा मन्त्री र विद्युत प्राधिकरणका कार्यकारी निर्देशकको अभिब्यक्तिले भ्रम फैलाएको भन्दै संसद्मा कुरा उठाएका छन् ।
उर्जा, जलस्रोत र सिंचाइ मन्त्री दीपक खड्काले लोडसेडिङ सुरू भएको बताए लगत्तै प्राधिकरणका निर्देशक कुलमान घिसिङले भने लोडसेडिङ नहुने भने पछि ठाकुरले सो बिषय उठाएका हुन् ।
‘उर्जा मन्त्रीले नेपालको लोडसेडिङमा भारतले हटाएको हो भनिरहनु भएको छ, मन्त्रीज्यू भन्नु हुन्छ, लोडसेडिङको सुरू भयो,’ गैरेले भने, ‘तर, कार्यकारी प्रमुख भन्नुहुन्छ, ‘लोडसेडिङमा हुन्न, ढुक्क हुनुहोस् भन्नु हुन्छ, यस खालका गलत र फरक सुचना बन्द गरियोस्, सही तथ्य बाहिर ल्याओस् ।’
सरकारका निकायवाट नै फरक फरक सुचना सम्प्रेषण हुदाँ जनमानसमा अन्यौल बढेको उनको गुनासो छ ।
हिजो राष्ट्रिय सभामा बोल्दै उर्जा, जलस्रोत र सिंचाइ मन्त्री दीपक खड्काले नेपालको लोडसेडिङ कुलमानले नभएर छिमेकी राष्ट्र भारत र नीजि क्षेत्रले हटाएको अभिव्यक्ति दिएका थिए ।
उनले भनेका थिए, ‘अहिले हामीलाई बत्ती पुगेको छैन । लोडसेडिङ छ । हिजो पनि लोडसेडिङ थियो, आज पनि छ । हिजो हामीले लोडसेडिङ छैन भनेर घोषणा गर्दा पनि थियो । खाली उद्योगधन्दातिर बत्ती कटौती गरेर घरतिर दिने काम गरिएको थियो, आज पनि त्यही छ । अहिले ८३० मेगावाट विद्युत भारतबाट आयात भइरहेको छ । हामीसँग पुग नपुग १ हजार मेगावाट विद्युत छ । अहिले साँझमा घरमै पनि लोडसेडिङ हुने अवस्था छ ।’
