सिरहा, ९ असोज । आफ्नै बुवालाई कुटपिट गरी हत्या गरेको अभियोगमा सिरहा प्रहरीले मृतकका जेठा छोरालाई पक्राउ गरेको छ ।
औरही गाउँपालिका-३ खजनपुर बस्ने ६५ वर्षको भालेश्वर यादवलाई उनको जेठो छोरा ३८ वर्षीय शैलेन्द्र कुमार यादव र बुहारी ३५ वर्षीय रेणु कुमारी यादवले सोमबार बेलुका कुटपिट गरेका थिए ।
कुटपिटको खबर पाएपछि प्रहरी चौकी औरहीबाट खटिएको प्रहरी टोलीले कुटपिटमा संलग्न शैलेन्द्रलाई नियन्त्रणमा लिएर भालेश्वरलाई उपचारको लागि प्रादेशिक अस्पताल सिरहा लगेको थियो ।
शरीरको भित्री भागमा चोटपटक भएको भन्दै त्यहाँ सामान्य उपचार पश्चात् भालेश्वरलाई थप उपचारको लागि नोबेल अस्पताल विराटनगर लग्ने क्रममा सोमबार राती ११:४० बजे बाटोमै निधन भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) मुक्तिनाथ सापकोटाले बताए ।
मृतकको शव पोस्टमार्टमपछि अर्का छोरा राम प्रताप यादवको जिम्मा लगाइएको छ भने हत्यामा संलग्न शैलेन्द्र यादवउपर कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको डिएसपी सापकोटाले बताए ।