सिरहा, १ असोज । हुण्डी कारोबारमा संलग्न भएको आरोपमा सिरहा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।
भाद्र २८ गते दिउँसो मोटरसाइकलमा चढेर भगवानपुर चोक तर्फबाट उत्तर लहान तर्फ मोटरसाइकलमा आइरहेका तीन व्यक्तिको साथबाट चौध लाख १९ हजार ८९० नेपाली रुपैयाँ र भारतीय रुपैयाँ ४०० बरामद गरिएको हो ।
सिरहा प्रहरी प्रवक्ता डिएसपी मुक्तिनाथ सापकोटाका अनुसार सुराकीको आधारमा स. ९ प. ११६२ नम्बरको मोटरसाइकललाई चेक गर्दा त्यसमा सवार व्यक्तिहरूले शरीरको विभिन्न भागमा लुकाएको रकम सहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्नेमा सप्तरी राजविराज नगरपालिका-१० बस्ने वर्ष ५७ को मोटरसाइकल चालक मजित मियाँ, मोटरसाइकलको बीचमा सवार सोही स्थानमा २८ वर्षीय अलाउदिन र पछाडि सवार २३ वर्षीय अजय चौधरी रहेका छन् ।
डिएसपी सापकोटाका अनुसार मोटरसाइकल चालकले कम्मरमा बाँधेको निलो रङको पटुका (कम्बरी) भित्रबाट रु आठ लाख चौध हजार आठ सय नब्बे र भा.रु चार सय रुपैयाँ, बीचमा बसेका अलाउदिनले लगाएको पाइन्टको कम्मरनिर रहेको खल्तीबाट रु. दुई लाख चार हजार पाँच सय र चौधरीले आफ्नो कम्मरमा बाँधेको सुन्तला रङको (कम्बरी) भित्रबाट रु चार लाख पाँच सय बरामद भएको हो ।
बरामद गरिएको रकमको श्रोत नखुलेको हुनाले उनीहरूलाई नियन्त्रणमा लिएर हुण्डी सम्बन्धी कसुर मुद्दामा सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिँदै इलाका प्रहरी कार्यालय लहानको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।