महोत्तरी, १ असोज । सामान बोक्ने टाटा कम्पनीको योद्धा गाडीमा फल्स सिलिङ बनाएर गाँजा तस्करी गर्ने दुई जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ ।
सोमबार साँझ ७:५० बजे प्रहरीले बा प्र ०१-०२६ च १३३६ नम्बरको गाडीका चालक र सहचालकलाई १० पोका गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) सन्तुलाल प्रसाद जैसवारका अनुसार महोत्तरी रामगोपालपुर चौकमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको उक्त गाडीलाई शङ्का लागेर चेक गर्दा गाँजा बरामद भएको हो ।
गाडीको पछाडि कालो निलो रंगको त्रिपालले छोपेर फल्स सिलिङ बनाएर १० वटा पोकामा राखिएको अवस्थामा गाँजा भेटिएको प्रहरीले बताएको छ । प्रतिपोका १० केजीका दर बरामद भएको लागुऔषधको तौल १५० किलो रहेको डिएसपी जैसवारले बताए ।
प्रहरीले गाडी, चालक धादिङ धुनबेसी-६ बस्ने ३० वर्षका संजिप खत्री र सहचालक चितवन खैरेनी-१ बस्ने १८ वर्षको सुदिप अधिकारीलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतमा राखेर लागुऔषध सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको बताइएको छ ।