काठमाडौं, ३१ भाद्र । सहकारी ठगी बारे संसदीय छानबिन विशेष समितिले सूर्यदर्शन सहितका ५ वटा सहकारीको ६५ करोड रुपैयाँ गोर्खा मिडियामा अपचालन भएको निष्कर्ष निकालेको छ ।
समितिले संसदमा पेश गरेको प्रतिवेदनमा गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित चार जनालाई प्रलचित कानुन बमोजिम कारबाही गर्न सिफारिस समेत गरेको छ ।
समितिले भनेको छ- ‘कुनै पनि कम्पनीको आफ्नै उद्देश्य र मर्म हुन्छ । कम्पनीका सञ्चालक वा शेयरहोल्डरहरू त्यस्तो संस्थामा मुख्य जिम्मेवार हुन्छन् । शेयर सदस्य, सञ्चालक सदस्य र प्रबन्ध निर्देशकको भूमिका र जिम्मेवारीमा रहेका पात्रहरूले कम्पनीमा प्राप्त हुने रकमप्रति जिम्मेवारी र दायित्वबोध नगर्न मिल्दैन । खातावाल हस्ताक्षरकर्ताहरू जसले खाता सञ्चालन अर्थात् वित्त परिचालनमा सहभागी हुन्छन्, त्यसवापत दायित्व ग्रहण ग्रहण गर्नु पर्दछ ।’
प्रतिवेदनमा भनिएको छ ‘सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोरखा मिडिया नेटवर्क प्रालि.को खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट निज सञ्चालकहरू अध्यक्ष गितेन्द्रबाबु राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानून बमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने ।’
लामिछानेसहित रास्वपाका नेताहरुको दाबी: क्लिन चिट पाइयो
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित उक्त पार्टीका अन्य नेताहरूले सहकारी ठगीमा अध्यक्ष लामिछानेको संलग्नता नरहेको पुष्टि भएको बताएका छन्।
सोमबार प्रतिनिधिसभामा छानबिन विशेष समितिले प्रतिवेदन बुझाएपछि संसदबाहिर पत्रकारहरूसँग कुरा गर्दै लामिछाने, समितिका सदस्यसमेत रहेका रास्वपाका सासंद शिशिर खनालले यस्तो प्रतिक्रिया दिएका हुन्।
पत्रकारहरूसँग कुरा गर्दै लामिछानेले भने ‘कम्पनीको एमडी भएकाले कर्मचारीलाई तलब आफूमार्फत जाने भए पनि लगानीको स्रोत हेर्ने अधिकारी म हैन । त्यो (लगानी) ल्याउनमा मेरो भूमिका छैन भन्ने स्पष्ट भइहाल्यो । लगानीकर्ताले ल्याएको रकमको स्रोत हेर्ने अथोरिटी मलाई हुँदैन । लगानीकर्ताले कस्तो रकम ल्यायो, सही थियो, गलत थियो हेर्ने निकायहरू छन्,’ उनले भने।